‘विद्रोही धरान’ मा साम्पाङको उदय

धरान । बिहानै उठेर घर नजिकैको ग्रीन टी पसलमा साथीभाइसँग भेट गर्ने र आफ्नो मिसनमा हिँड्ने उनको दैनिकी थियो। आफ्ना केही समर्थक र फेसबुक पेजमा फलो गरेकाबाहेकले उनलाई त्यति महत्त्व दिएका थिएनन्। कहिले उनी एक्लै हिँडेर बस्तीमा छिर्थे, कहिले आफ्नै टेम्पो चढेर घुम्थे। उनी कताकता पुग्छन् भनेर परिवारका सदस्य र साथीभाइले पनि भेउ पाउँदैनथे।

गुमनामझैं रहेका यी पात्र एकसाता भयो, राष्ट्रिय चर्चाको केन्द्रमा छन्। अहिले मूलधारका सञ्चारमाध्यमका रिपोर्टर अन्तर्वार्ता लिन उनलाई खोज्दै आइपुग्छन्। उनको सर्बत्र चर्चा छ। जताततै छाएका छन् उनी।

धरानमा स्थानीय निर्वाचनको अन्तिम मतपरिणाम नआउँदै सबैको ध्यान उनीतिर सोझियो। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारलाई फराकिलो मतअन्तरले पराजित गरेपछि उनको व्यक्तित्व बढेको छ। उनको जितलाई धरानवासीको ‘मौन विद्रोह’ का रूपमा पनि हेरिएको छ। त्यसो त उनले सामाजिक अभियन्ताका रूपमा जनताका पक्षमा गरेको संघर्षको कथा पनि लामो छ।

यी पात्र हुन्, स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित ४० वर्षीय हर्कराज राई (साम्पाङ)। राजनीतिक दल र नेताले जनताको विश्वासप्रति गरेको कुठाराघातबाट निराश बनेका धरानवासीका लागि मात्र होइन, सिंगो नेपालीका लागि पनि आशाको दियो बनेका छन् उनी। कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भनेजस्तै उनी नेपाली समाज र राजनीतिमा एक ‘आइडल पर्सन’ का रूपमा जबर्जस्त उदाएका छन्। उनको न कुनै संगठन छ न राजनीतिक दलका नेताको अघिपछि हिँड्ने जस्ता कार्यकर्ता वा समर्थक छन्। नेताले बिर्सिएका जनताका सानासाना मुद्दा बोकेर निरन्तर संघर्ष गरिरहने एक आममान्छे हर्कराज अहिले उपमहानगरपालिकाको प्रमुख पदमा पुगेका छन्।

ब्रिटिश लाहुरे तिलविक्रम र जसमायाको कोखबाट २०३९ सालमा खोटाङको खार्तम्छा चोखानेमा जन्मिएका हुन् हर्कराज। बुबा धरानको घोपास्थित ब्रिटिश क्याम्पमा जागिरे हुँदा उनी सानैमा परिवारसँगै जन्मठाउँबाट धरान झरेका थिए। ब्रिटिश क्याम्प पोखरा सरेपछि उनी बुवाआमासँग कहिले खोटाङ त कहिले धरान आउजाउ गरिरहे। तीन दाजुभाइमा हर्कराज कान्छा हुन्।

हर्कराजको धरान–१८, बुद्धचोकमा पक्की घर छ। यही चोकमा उनको परिवार लामो समय डेरामा बसेको थियो। आमा जसमायाका अनुसार हर्कराज सानैदेखि अलि एकोहोरो (जिद्दी) र अनौठो स्वभावका थिए। समयअनुसार छोरामा परिवर्तन आएको उनले देखेकी छन्। उनी भन्छिन्, ‘सानोमा पनि यस्तै थियो। एकोहोरो, अनौठो स्वाभाव नै थियो। समयअनुसार परिवर्तन पनि भयो।’

हर्कराज खोटाङको शुक्रबारे माविबाट एसएसली पास गरेपछि २०५५ सालतिर उच्चशिक्षाका लागि धरान झरेका थिए। महेन्द्र बहुमुखी क्याम्पस धरानबाट उनले राजनीति र समाजशास्त्रमा स्नातकसम्म अध्ययन गरेका छन्। उनले ‘पर्फेक्ट इङ्लिस ल्याङवेज एन्ड कम्युटर सेन्टर’ मा लामो समय अंग्रेजी भाषा र कम्युटर पनि सिकाए। सन् २००९ तिर भने उनी सेन्टर छाडेर युद्धग्रस्त मुलुक इराक पुगे। इराकमा १८ महिना बसेर फर्किएपछि उनी पुनः अफगानिस्तान गएर ५ वर्ष बसे। ‘म मध्यमवर्गीय परिवारको मान्छे हुँ। खानलाउन समस्या थिएन। पैतृक सम्पत्ति छ, सेन्टरमा कमाइ ठिकै थियो। तर पनि विदेशी भूमीको अनुभव लिन गएँ,’ हर्कराज भन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *