तुलसीपुर उपमहानगरपालिकामा एमाले उम्मेदवारको अग्रता

दाङ । तुलसीपुर उपमहानगरपालिकामा जारी मतगणनामा प्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार टीकाराम खड्का र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीबीच प्रतिस्पर्धा देखिएको छ ।

आज बिहान प्राप्त मत विवरणअनुसार एमालेका खड्काले १० हजार ६०५ र कांग्रेसका उम्मेदवार गिरीले १० हजार ५३४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले जनाएको छ । उनीहरु बीच ७१ मतान्तर रहेको छ ।

त्यस्तै उपप्रमुख पदमा एमालेका उम्मेदवार स्यानी चौधरी अगाडि रहेका छन् । चौधरीले ११ हजार १७ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर रानाले आठ हजार ९९ मत प्राप्त गरेका छन् । उनीहरुबीच एक हजार ८१८ को मतान्तरण रहेको छ । हालसम्म २५ हजार ६८३ मत गणना भएको छ ।

यसैबीच तुलसीपुर उपमहानगरपालिका–६ को वडाध्यक्ष पदमा एमालेका दुजमान भण्डारी २१ हजार २३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका लोकराज डाँगीले दुई हजार ६७ मत प्राप्त गरेका छन् ।

यसअघि तुलसीपुर–५ मा कांग्रेसका वीरेन्द्रकुमार शाह, तुलसीपुर–४ मा गठबन्धबाट माओवादीका तुलसी थापामगर, तुलसीपुर–३ मा एमालेबाट वीरबहादुर विक, तुलसीपुर–२ भमबहादुर कवर योगी, तुलसीपुर–१ मा गठबन्धबाट होमकान्त सापकोटा निर्वाचित भएका छन् ।

अहिले तुलसीपुर उपमहानगरपालिका वडा नं ७, ८ र ९ को मतगणना जारी रहेको छ । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकोमा ७४ हजार ३३६ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *