समानुपातिकतर्फ कांग्रेसमाथि एमालेको डेढ लाख मतको अग्रता

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म एक करोड १ लाख ७५ हजारभन्दा बढी मतगणना सकिएको छ । पछिल्लो तथ्यांकअनुसार नेकपा (एमाले) ले प्रतिनिधिसभातर्फ समानुपातिकमा २७ लाख २२ हजारभन्दा बढी मत प्राप्त गर्दा नेपाली कांग्रेसले २५ लाख ८६ हजार मत पाएको छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र) ले ११ लाख ५३ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ४ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७९ हजार, जनता समाजवादी पार्टी (जसपा) ले ४ लाख ८ हजार, जनमत पार्टीले ३ लाख ७५ हजार मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् ।

यस्तै, २ लाख ९० हजार मत कटाएको नेकपा (एकीकृत समाजवादी) थ्रेसहोल्ड कटाउन संघर्षरत छ । निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातामध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड नौ लाख हाराहारीमा मत खसेको बताईएको छ । निर्वाचनमा खसेको मतमध्ये सदर मतको तीन प्रतिशतलाई थ्रेसहोल्ड मानिएको छ ।

राजनीतिक दल सम्बन्धी ऐनमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *