निर्वाचनमा बहुमत हासिल गर्नेगरी अघि बढ्न केन्द्रीय सदस्यहरुलाई ओलीको निर्देशन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा बहुमत हासिल गर्नेगरी अघि बढ्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन् ।

बुधबारदेखि सुरु भएको पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तहमा बहुमत हासिल नगरे केन्द्रमा सहज नहुने भन्दै स्थानीय तहको निर्वाचनमा बहुमत हासिल गर्नेगरी अघि बढ्न निर्देशन दिएका हुन् ।

उनले भने,‘स्थानीय तहमा हामी विजय हासिल गर्न सकेनौं भने केन्द्रमा बहुमत हासिल गर्दा पनि सहज नहुने स्थिति छ । त्यसकारण स्थानीय तहमा बहुमत हासिल गर्नुपर्छ।’

अध्यक्ष ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनमा एमाले मुख्य शक्ति र मूलधार भएको दाबी गर्दै आगामी चुनौतीको सामना र समाधान गर्नुपर्ने दायित्व आफूहरुमा रहेको बताए । उनले भने,‘एमाले कम्युनिष्टहरूमा ठूलो हो भनिन्छ यो गलत छ । हामी समग्रमा ठूलो पार्टी हो। प्रजा परिषद पनि यसमा समाहित भएको छ। यो सबै लोकतान्त्रिक आन्दोलनको मुलधार हामी हौं।’

अध्यक्ष ओलीले शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिएर शान्तिको बास्तविक र दिगो शान्तिको व्यवस्था गर्ने, सुशासन र विकासमा प्रतिबद्ध हुँदै यसलाई एक कदम अगाडि बढाउन, राज्यका सबै अंग आफ्नो उत्तरदायीत्वमा रहेर अघि बढ्नुपर्ने छिनोफानो गर्नुपर्ने अवस्थामा आफूहरु आएको बताए ।

बैठकमा प्रदेश अध्यक्षले आ–आफ्ना प्रदेशको संगठनात्मक कामको अवस्था, जिल्लाको शक्ति सन्तुलनको स्थिति र निर्वाचनको तयारी तथा सम्भावनाबारे जानकारी गराउने छन्। केन्द्रीय कार्यालयको तर्फबाट महासचिव शंकर पोखरेलले विभाग, जनसंगठन, आयोग र कार्यालयसहित समग्र पार्टी कामको रिपोर्टिङ प्रस्तुत गर्ने एमालेले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *