किन बढ्दैछ कांग्रेसभित्र प्रचण्डप्रति आक्रोश ?

काठमाडौं । अमेरिकी सहयोग परियोजना(एमसीसी)संसदबाट अनुमोदन गर्ने क्रममा सत्ता गठबन्धनभित्र केही समय खटपट भयो । खासमा नेकपा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अनुमोदन नगर्ने अडान लिएपछि गठबन्धनभित्र खटपट भएको हो । यसपछि कांग्रेसले नेकपा एमालेसँग संवाद अघि बढायो । एमालेसँग कांग्रेसले संवाद अघि बढाएपछि माओवादी नाटकीय रुपमा व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णयमा पुग्यो । त्यतिबेला कांग्रेस नेताहरु प्रचण्डप्रति आक्रोशित देखिएका थिए । किनकी कांग्रेसका दोस्रो तहका नेताहरु डा. मिनेन्द्र रिजाल, महामन्त्री गगन थापालगायतका नेताहरु प्रचण्डप्रति आक्रोशित देखिएका थिए । कांग्रेस नेता रिजालले कांग्रेस र एमालेबीच कुनै सहकार्य नहोस् भनेर गठबन्धन दलहरूले योजना बनाइहरेको बताएका थिए । उनको टिप्पणी थियो,‘द्वन्द्वका बेला उहाँहरू पूर्वमा सानो पटका पड्काएर पश्चिममा आक्रमण गर्नुहुन्थ्यो, अहिले त्यही प्रयास भइरहेको देखिन्छ ।’ रिजाल अहिले पनि प्रचण्डप्रति विश्वास गर्न नसकिने भन्दै चुनावी तालमेल गर्न नहुने पक्षमा छन् ।

त्यस्तै महामन्त्री गगन थापा पनि माओवादीप्रति आक्रोशित देखिएका छन् । एमसीसी प्रकरणमा माओवादीले द्धैध चरित्र प्रदर्शन गरेको भन्दै थापा आक्रोसित देखिएका हुन् । उनले त चुनावी तालमेल गर्न नहुने एजेण्डा पार्टी केन्द्रीय कमिटी बैठकबाट पारित गर्ने बताउँदै आएका छन् । दोस्रो तहका नेताहरुको माओवादीप्रति आक्रोशपूर्ण अभिव्यक्ति आउन थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नेताहरुलाई संयमित हुन र गठबन्धनभित्रका दल र विपक्षी दलप्रति नकारात्मक अभिव्यक्ति नदिन आग्रह गरे । प्रधानमन्त्रीले हिजो निर्वाचनमा एक्लै जाँदाको परिणामकाबारेमा मनन गर्न आग्रह गरे । पार्टी सभापतिले यस्तो आग्रह गरेपनि कांग्रेस नेताहरुले प्रचण्डप्रति आक्रोशपूर्ण अभिव्यक्ति दिन छाडेका छैनन् ।

सोमबार गिरिजाप्रसाद कोइरालाको स्मृतिमा आयोजना गरिएको एक कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भिकारीसँग तुलना गर्दै आक्रोशपूर्ण अभिव्यक्ति दिए । उनले कहिले कचौरा लिएर बालकोट त कहिले बालुवाटार पुग्ने गरेको भन्दै प्रचण्डप्रति उनले कटाक्ष गरे । उनले भने, ‘गिरिजाले आफू हारेपनि देश हार्न हुन्न भन्थे, उता सँगै हस्ताक्षर गर्ने प्रचण्डचाहिँ आफू हार्न हुन्न देश हारे हारोस भन्छन् । तपाईं (प्रचण्ड) लाई हेरेर बिचरा भन्न मनलाग्यो । कहिले कचौरा लिएर बालकोट पुग्नु हुन्छ कहिले बालुवाटार !’ चुनावी गठबन्धन गर्ने विषयमा निर्णय गर्न कांग्रेसले चैत ११ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । प्रधानमन्त्री चुनावी गठबन्धन गर्ने पक्षमा छन् तर दोस्रो तहका नेताहरु भने यसको विपक्षमा छन् । दोस्रो तहका नेताहरु माओवादीप्रति आक्रोशित भइरहेका बेला कांग्रेसले चुनावी गठबन्धन गर्ने  निर्णय गर्ला त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *