काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत हुने त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा आज नेपालले पपुवा न्युगिनी(पीएनजी)को सामना गर्दैछ । शरजाहमा हुने खेल नेपाली समय अनुसार दिउँसो ११:१५ बजे शुरु हुनेछ ।
नेपाल आज हुने खेल जित्दै सिरिजको सुखद शुरुवात गर्न चाहन्छ । विश्वकप लिग-२ को छैटौं स्थानमा रहेको नेपाललाई यस सिरिजमा सक्दो जीत निकाल्दै स्थान सुधार गर्ने मौका रहेको छ । हाल नेपालले ८ खेलबाट ८ अङ्क जोडेको छ । लिगमा नेपाल सबैभन्दा कम खेल खेल्ने टोली हो ।
नेपालले सिरिजको तयारीको रुपमा श्रीलंकामा खेलेको ४ मध्य ३ अभ्यास खेल जीत निकालेको थियो भने एक खेलमा पराजित भएको थियो । तर बलियो टोलीसँग खेल्न नपाउँदा अझै टोलीको कमजोरी पत्ता लगाउन नसकेको नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले बताएका थिए ।
यता पीएनजी भने लिगमा पहिलो जीतको खोजीमा रहेको छ । लिगमा १३ खेल खेलिसकेको पीएनजीलै अझै जीतको खाता खोल्न सकेको छैन । हिजो मंगलबार भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमापनि पीएनजी युएईसँग ७ विकेटले पराजित भएको थियो ।
त्रिकोणात्मक सिरिजमा नेपाल, पीएनजी र युएई रहेका छन् । सिरिजमा तीनै टोलीले ४/४ खेल खेल्नेछन् ।
