विराटनगर । प्रदेश एकका मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । सोमबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले राजीनामा घोषणा गरेका हुन् ।
विश्वासको मतको प्रस्तावमा सोमबार निर्णय गर्ने कार्यसूची रहेकोमा मुख्यमन्त्री आचार्यले त्यो प्रक्रियामा प्रवेश गर्नुअघि नै प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा घोषणा गरेका हुन् ।
बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले दलहरू मिलेर जानुको विकल्प नरहेको बताए । उनले राजनीतिमा कामले अगाडि जानुपर्ने र दलहरू फुटाउनेतर्फ लाग्ने काम अराजनीतिक हुने बताए ।
लोकतन्त्र र संविधान निर्माणका लागि लडेर आएका शक्ति जुटेर अघि बढ्नुपर्ने पनि उनले बताए । यसअघि वाग्मती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि राजीनामा दिएकी थिइन् । आचार्य ६८ दिन मात्र मुख्यमन्त्री बनेका छन् । ९२ सदस्यीय प्रदेशसभामा एकल बहुमत रहेको एमालेका ५१ सदस्यमध्ये १० जना प्रदेश सांसद एकीकृत समाजवादीमा गएपछि एमाले ४१ जनामा सीमित बनेको थियो ।