तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित पृथ्वी राजमार्गमा हाइस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
आइतबार साँझ ७:१५ बजे मुग्लिनबाट पोखरातर्फ जाँदै गरेको बा ४ ख ८४१९ नम्बरको हाइस चालकले नियन्त्रण गुमाउँदा सडक डाइभर्सनका लागि राखिएको सिमेन्टेड डिभाइडरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा हाइस चालक स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का ३७ वर्षीय भद्रबहादुर शाहसहित ११ जना घाइते भएका हुन् ।
प्रहरीका अनुसार घाइतेमध्ये ८ जनाको अवस्था मध्यम र ३ जनाको अवस्था सामान्य छ । उनीहरूलाई उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको छ । दुर्घटनामा परेको हाइस घटनास्थलमै रहेको र सडकमा यातायात अवरुद्ध नभएको प्रहरीले जनाएको छ ।
