एनपीएलमा जनकपुरको लगातार दोस्रो जित

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित निकालेको छ । आइतबार बेलुकी सम्पन्न खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ९ रनले हराएको हो । पोखराको यो लगातार दोस्रो हार हो ।

जितको लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३८ रनमात्र बनाउन सक्यो । पोखराको लागि कप्तान कुशल भुर्तेलले २४ बलमा ५ चौकाको मद्दतमा सर्वाधिक ३५ रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान गर्न सकेनन् । विपिन आचार्यले २०, विपिन खत्रीले १७ र किरण ठगुन्नाले १५ रन बनाउँदा अन्य  ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

जनकपुरको लागि मोइन अलीले ४ ओभरमा एक मेडन राख्दै १३ रन दिएर तीन विकेट लिँदा हर्मित सिंह र सैफ हसनले समान २/२ विकेट लिए । ललित राजवंशी र जेम्स निशमको नाममा एक/एक विकेट रह्यो ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो । जनकपुरको लागि त्रितराज दासले अर्धसतक बनाए । उनले ५५ बल खेल्दै ७ चौका र २ छक्काको मद्दतमा ६१ रन बनाए । यस्तै अविशेक तिवारीले नटआउट २४, मोइन अलीले २१ र जेम्स निशमले ११ रनको योगदान गरे ।

पोखराको लागि शकिब अल हसनले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिँदा चमिका करुनारात्नेले दुई तथा महेदी हसन र मोहम्मद सैफुदीनले समान एक/एक विकेट लिए ।

जितसँगै जनकपुर ३ खेलबाट ४ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिदा एक खेल कम खेलेको पोखरा अंकविहीन रहँदै सातौँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *