काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई आलोचक र पत्रकारको पछि लाग्नुभन्दा देश लुटेर अकुत सम्पत्ति कमाउनेहरूलाई कानुनी कारबाही गर्न आग्रह गरेका छन्।
सामाजिक संजालमार्फत शाहीले जनताले दिएको झन्डै दुई तिहाइको जनमत भ्रष्टाचारीलाई कानुनी कठघरामा उभ्याउनका लागि भएको उल्लेख गर्दै सरकारको प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन हुनुपर्ने बताएका हुन्।
शाहीले युवालाई स्वदेशमै रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्न, नागरिकलाई गुणस्तरीय स्वास्थ्य र शिक्षा उपलब्ध गराउन तथा विदेशिन बाध्य युवालाई स्वदेशमै भविष्य देखाउन सक्ने वातावरण निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
उनले जनताले आलोचक र पत्रकारलाई पक्राउ गर्न नभई देश लुट्नेहरूलाई कारबाही गर्न सरकारलाई जनमत दिएको जिकिर गरेका छन्।
‘भ्रष्टाचारीलाई जेल हाल्नुहुन्छ भने हामी तपाईंको साथमा छौँ,’ शाहीले भनेका छन्।
प्रधानमन्त्रीलाई राष्ट्रिय जिम्मेवारीलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै उनले कमेडी नगरी काम गरेर देखाउनसमेत चुनौती दिएका छन्।
