ओलीको स्तुतिगान गर्दागर्दै एमाले समाप्त हुने दिशामा छः झाँक्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले केपी शर्मा ओलीको व्यक्तिपूजा, स्तुतिगान र जयजयकारले एमाले समाप्त हुने दिशामा गएको बताएकी छन् । व्यक्तिपूजा गरेर नै विश्व कम्युनिस्ट आन्दोलन ध्वस्त दृष्टान्त नबिर्सन उनको चेतावनी छ ।

नेतृ झाँक्रीले भनिन्, “विश्व कम्युनिस्ट आन्दोलन व्यक्तिपूजा गरेर नै ध्वस्त भएको हो । एमालेको कुम्भमेलामा पनि विचारविहीनको व्यक्तिपूजा गरिएको छ । अग्ला अग्ला पुत्लामुनि बिचरा मनुष्यहरु ङिच्च हाँसेर फोटो खिचिरहेका छन् । यस्तो दक्षिणपन्थी विसर्जनवाद कथा र फिल्ममा देखिएको थियो । त्यो हेर्दा हाम्रो विद्रोह सार्थक भएको प्रस्ट छ ।”

नेतृ झाँक्रीले थपिन्, “अलौकिक शक्तिको पूजा अन्धविश्वास हो । एमालेमा आज विचार, सिद्धान्त, नीति र आदर्श मरिसकेकोे छ । कार्यकर्तालाई चाकर र दासका रुपमा विकास गरिएको छ । विचारविहीन दक्षिणपन्थमा लागेका व्यक्तिको स्तुतिगान र जयजयकारले के स्पष्ट भएको छ भने एमाले समाप्त हुने दिशामा छ ।”

पार्टी गठन भएको एक महिना नबित्दै एकीकृत समाजवादीको राष्ट्रव्यापी संगठन निर्माण भएको उनले दाबी गरिन्, “एमाले भत्कँदै छ, हामी नयाँ बन्दै छौं । हामी संसद्मा चौथो ठूलो पार्टी हौं । पहिलो पार्टी भए एमालेले सरकार चलाउन सक्दैन, मुलुकलाई रुपान्तरणमा लैजान सकेन ।”

आगामी निर्वाचनमा एमाले र ओलीका लागि सिंहदरबारमा ढोका बन्द हुने उनले दाबी गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *