एकीकृत समाजवादीलाई वैकल्पिक शक्तिका रुपमा अघि बढाउँछौंः खतिवडा

काठमाडौ। नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले आफ्नो दक्षिणपन्थी विसर्जनवादका विरुद्ध क्रान्तिकारी पंक्तिलाई संगठित गर्दै वैकल्पिक शक्तिका रुपमा अघि बढाउने सोचमा रहेको बताएका छन् । पार्टीको हिजोबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवदेनले त्यस्तो सुनिश्चितता गरेको उनको दाबी छ ।

प्रवक्ता खतिवडाले भने, ‘हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठक हिजो सुरु भएको छ । अध्यक्षको राजनीतिक प्रतिवेदनमा छलफल भइरहेको छ । त्यसमा पार्टी कमिटी निर्माण, कार्यविभाजन, संगठन सुदृढीकरणका आवधिक कार्ययोजनालाई समेटिएको छ । प्रतिवेदनले नेकपा एकीकृत समाजवादीलाई दक्षिणपन्थी विसर्जनवादका विरुद्ध क्रान्तिकारी पंक्तिलाई संगठित गर्दै वैकल्पिक शक्तिका रुपमा अघि बढाउने बाटो लिएको छ ।’

नेता खतिवडाले प्रतिवेदनमा चुनावसम्म वाम-लोकतान्त्रिक गठबन्धन सबैलाई अघि बढाउने पक्ष पनि समेटिएको बताए । चुनावमा कांग्रेसले तपाईंहरुसँग सहकार्य गर्ला भन्ने प्रश्नमा उनले थपे, ‘हाम्रो सोच त चुनावसम्म नै वाम लोकतान्त्रिक सहकार्य गर्ने हो । यसलाई कांग्रेसले अस्वीकार गर्छ भन्ने लाग्दैन । दल सानो होस् या ठूलो, राष्ट्रप्रतिको वफादारिता महत्त्वपूर्ण हो भन्ने उसले पक्कै बुझेको छ । हेरौं, समयलाई पर्खने बाहेक अरु विकल्प छैन ।’

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज सकिएपछि भोलिदेखि मन्त्रिपरिषद्को काम सुरु हुने बताए । उनले भने, ‘पार्टीले सरकारमा जाने निर्णय गरिसकेको छ । हामी सरकारमै छौं, मन्त्री नबनेको मात्र हो । त्यस कारण बढीमा एकदुई दिनको कुरा हो । हामी छिटो गर्न लागेका छौं ।’

आफ्नो पार्टीले मन्त्रालय विशेषमा कुनै दाबी नगरेको पनि उनले बताए । डा नारायण खड्कालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएर संयुक्त राष्ट्रसंघको महासभामा पठाउने तयारी गरेको कुरामा कुनै विमति नभएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *