एजेन्सी । इभोरिकोस्टका फरवार्ड सेबास्टिन हल्लेर एक्लैले चार गोल गरेपछि आयाक्सले युईएफए च्याम्पियन्स लिगमा जित दर्ता गरेको छ । गएराति भएको समूह ‘सी’को खेलमा आयाक्सले स्पोर्टिंङ सिपीलाई ५-१ गोलले हराएको हो ।
इस्टेडियो जोसे अल्भालाडेआ भएको खेलमा आयाक्सलाई जित दिलाउन सेबास्टिन हल्लेरले चार गोल गर्दा स्टेभेन बेर्घुइसले एक गोल थपे । स्पोर्टिंङको लागि पौलिन्होले एक गोल फर्काए । खेलको दोस्रो मिनेटमै हल्लेरले गोल गर्दै आयाक्सलाई खेलमा अगाडि बढाएका थिए । नवौं मिनेटमा एन्टोनीको पासमा हल्लेरले व्यक्तिगत दोस्रो गोल गर्दै आयाक्सको अग्रता दोब्बर बनाए । ३३ औं मिनेटमा माथेउस लुइसको पासमा पौलिन्होले गोल गर्दै स्पोर्टिंङलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।
३९ औं मिनेटमा ग्राभेन्बेर्चको पासमा बेर्घुइसले गोल गर्दै आयाक्सलाई पहिलो हाफमा ३-१ गोलको अग्रता दिलाए । ४७ औं मिनेटमा पौलिन्होले गरेको गोल भिएआरले अफसाइड घोषित गर्दा स्पोर्टिंङले गोल अन्तर कम गर्ने मौका गुमाएको थियो । ५१ औं मिनेटमा एन्टोनीको पासमा हल्लेरले गोल गर्दै व्यक्तिगत ह्याट्रिक पुरा गरे ।
यस्तै ६३ औं मिनेटमा माज्राओइको पासमा हल्लेरले व्यक्तिगत चौथो गोल गर्दै आयाक्सलाई ५-१ गोलको फराकिलो जित दिलाए । जितसँगै आयाक्स ३ अंक जोड्दै समूहको शिर्ष स्थानमा रहेको छ ।
