काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि फिफा विश्वकप-२०२६ अन्तर्गत भएको खेलमा पोर्चुगल विजयी भएको छ । मंगलबार राति भएको खेलमा उज्वेकिस्तानलाई ५-० गोलले हराउँदै पोर्चुगल समूहको शीर्ष स्थानमा उक्लिएको हो ।
ह्युस्टन स्टेडियममा भएको खेलमा पोर्चुगललाई जित दिलाउन रोनाल्डोले दुई गोल गर्दा नुनो मेन्डेस र राफायल लियोले समान एक/एक गोल गरे । पोर्चुगलले एक गोल उपहार पाएको हो । खेलको छैटौँ मिनेटमै कान्सेलोको पासमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई शुरुवाती अग्रता दिलाएका थिए । यससँगै उनी ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन् ।
१७ औँ मिनेटमा मेन्डेजले फ्रि-किकमा गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । ३९ औँ मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई पहिलो हाफमा ३-० गोलको अग्रता दिलाएका थिए । दुई गोल गरेसँगै रोनाल्डो पोर्चुगलबाट फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले यसअघि इउसेबियोको नाममा रहेको ९ गोलको कीर्तिमान तोडेका हुन् ।
६० औँ मिनेटमा उज्वेकिस्तानका गोलरक्षक अब्दुवोहिद नेमाटोभले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि पोर्चुगल फराकिलो जिततर्फ अगाडि बढेको थियो ।
यस्तै ८७ औँ मिनेटमा लियोले गोल गर्दै पोर्चुगललाई ५-० गोलको जित दिलाएका हुन् । जितसँगै पोर्चुगल २ खेलबाट ४ अंक जोड्दै समूह ‘के’को शीर्ष स्थानमा उक्लिएको छ भने समान खेलबाट अंक विहीन उज्वेकिस्तान पुछारमा रहेको छ ।
