नेकपा एसबाट यी सांसद मन्त्री बन्ने प्रवल सम्भावना

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्री बन्ने सम्भावितहरुको पहिलो चरणको सुची तयार पारेको छ । ती नामहरुबाट प्रमुख नेताहरुले छलफल गरी अन्तिम सूची तयार गर्ने बुझिएको छ ।

अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रभावशाली नेता बामदेव गौतमले छलफल गरी पहिलो चरणको सूची टुंगो लगाएको विश्वस्त स्रोतले बताएको छ । मन्त्रीहरुका लागि मापदण्ड बनाएर आलोपालो गर्ने गरी सूचीहरु तयार गरिएको बुझिएको छ । त्यसलाई राजनीतिक दलसम्बन्धी अध्यादेश निष्कृय हुनेवित्तिकै अन्तिम टुंगो लगाइने स्रोतले बतायो ।

मन्त्री बनाउँदा भूगोल, योगदान, जाति, समुदाय र लिङ्गलाई समेत ध्यानमा राखेर अन्तिम टुंगो लगाइने बुझिएको छ । प्रेमबहादुर आले, शेरबहादुर कुँवर, भवानी खापुङ, किसान श्रेष्ठ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, हिराचन्द्र केसी, मेटमणि चौधरी र रामकुमारी झाँक्री मन्त्रीको सूचीमा रहेको बुझिएको छ । नेकपा एसले ६ मन्त्री पाएकाले आलोपालो गरेर मन्त्री बनाउने तयारी समेत भएको छ ।

अध्यक्ष नेपालले नेकपा एस निर्माण गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अन्तिम समयमा छाडेर आएकाहरुलाई अवसर दिने भएका छन् । त्यसकारण पनि आले, केसी जस्ता नेताहरुले अवसर पाउने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *