प्रदेश १ मा एक महिनाभित्रै गठबन्धन सरकार बन्छः राजेन्द्र राई

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं प्रदेश १ का नेता राजेन्द्र राईले नेकपा एमाले अल्पमतमा परेकाले गठबन्धनले सरकार बनाउनु स्वाभाविक भएको बताएका छन् । भावी मुख्यमन्त्रीका रुपमा हेरिएका राईले कांग्रेसका २१, माआवादीको १५, एकीकृत समाजवादीका १०, जसपाका ३ र लिम्बुवानका गरी गठबन्धनका पक्षमा ५० जना सांसदको बहुमत पुग्ने दाबी गरे ।
“नेकपा (एकीकृत समाजवादी) को समर्थनमा अरु प्रदेशमा गठबन्धन दलको सरकार बनेकाले स्वाभाविक रुपमा हामीले मुख्यमन्त्रीको आकांक्षा राख्न सक्छौं । तर यो निश्चित भइसकेको कुरा होइन । हामी समझदारीमै नेतृत्व छनोट गर्छौं । र, सबैले सबैलाई स्वीकार्छौं । किनभने केन्द्रदेखिका सबै सरकार हामीले मिलेर बनाएका हौं । अब पनि मिलेर बनाउँछौं ।” नेता राईले भने ।
आफ्नो नेतृत्वमा सरकार बनेमा प्रदेशको नाम राख्ने, विकास निर्माणको काम अघि बढाउने, सुशासन र शान्ति सुरक्षाका कायम गर्ने उनले जानकारी दिए ।  एक महिनाभित्र प्रदेशमा नयाँ सरकार बनिसक्ने नेता राईले बताए । उनले थपे, “यो सरकारको आयु एक महिनाभन्दा लामो हुने छैन । अब मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ । केपी ओलीका गलत कामका विरुद्धमा माधव नेपालको साथ दिएर अहिले फेरि ओलीतिर लाग्नुभएको छ । त्यसकारण हामीले उहाँलाई विश्वासको मत दिने अवस्था छैन ।”
मुख्यमन्त्री भीम आचार्यले सत्ता गुम्ने भयले होस गुमाएर सांसद खरिद गरेको झुटा र अनर्गल आरोप लगाएको राईको भनाइ छ । उनले भने, “त्यो सबै प्रोपागान्डा हो । हामीले कसैलाई खरिद गरेका छैनौं । हामीले कसैलाई मन्त्री दिनु पनि पर्दैन ।” उनले एमसीसीका कतिपय प्रावधान राष्ट्रको हितमा नभएकाले त्यसको पक्षमा नउभिने पनि बताए । उनले भने, “कतिपय प्रावधान देश विरोधी छ । सरकारले विधेयक ल्याएमा संख्या पुग्दैन, गठबन्धनमा खटपट हुन्छ ।” उनले चीनसँगको सीमा विवाद अध्ययन कार्यदल बन्नु सकारात्मक भएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *