अध्यादेश ल्याई दलदलमा भासिएकाको उद्धारः यादव

जनकपुरधाम। जनता समाजवादी पार्टीको विभाजन नभई शुद्धीकरण भएको अध्यक्ष उपेन्द्र यादवले बताएका छन्। ‘पार्टी एकढिक्का छ, केही लोभीहरूलाई शुद्धीकरण गरिएको छ,’ उनले भने। शुक्रबार जनकपुरधाममा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दैै अध्यक्ष यादवले केही व्यक्ति पार्टीबाट अलग हुँदैमा विभाजन भनिहाल्न नमिल्ने तर्क गरे। उनले भने, ‘लोभीपापीको झुन्ड अलग भएपछि जसपा शुद्ध भएको छ।’

पार्टीको निर्णय नमान्ने, आफैंले गरेको सहमति तोड्ने, स्वविवेकले निर्णय गर्न नसक्नेहरूको झुन्डले देश र मधेसको भलो गर्न नसक्ने उनको भनाइ थियो। ‘८० प्रतिशत नेताकार्यकर्ता मूल पार्टी जसपामै छन्,’ उनले भने। लोसपा अध्यक्ष महन्थ ठाकुरलाई लक्ष्य गर्दै यादवले टिप्पणी गरे, ‘दलदलमा भासिन लागेकाहरूलाई सरकारले अध्यादेश ल्याएर उद्धार गरेको छ। प्रतिगमनविरुद्धको आन्दोलन छाडेर केपी शर्मा ओलीको असंवैधानिक कदमको मतियार बन्न पुगेकाहरू दलदलमा फसेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उद्धार गरेको यादवले बताए।

महन्थ ठाकुर एन्ड कम्पनी लोकतन्त्र समाप्त गरी स्वेच्छाचारी ढंगबाट एउटै संसद् दुईपटक भंग गरेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको मतियार बनेको आरोप अध्यक्ष यादवको थियो। ‘त्रुटिपूर्ण र गलत संविधान संशोधनका लागि सडक र सदनबाट संघर्ष भइरहेको छ,’ यादवले भने, ‘हाम्रो प्रयास संविधानको सकारात्मक पक्षको रक्षा गरी त्रुटिलाई संशोधन गर्नु हो।’

आरक्षण, शासकीय स्वरूप, निर्वाचन प्रणाली, जनसंख्याका आधारमा समानुपातिक समावेशी, सामाजिक न्यायको प्रत्याभूति गराउने न्याय प्रणालीको सवालमा संविधान संशोधन आवश्यक रहेको यादवले बताए। अध्यक्ष यादवले संविधान संशोधन गरी संघीयता र समावेशिता सच्याउने लक्ष्यसाथ अघि बढेको पनि बताएका छन्। उनले भने, ‘देशका सबै जातिको समानुपातिक र समावेशी अधिकार प्रदान गर्ने लक्ष्य छ।’ नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *