मधेसमा तागत जाँच्दै जसपा र लोसपा

काठमाडौं । दलकै महन्थ ठाकुर पक्षले अर्को दल खोलेर नेता–कार्यकर्ता तान्ने अभियान चलाएपछि बिहीबार दिउँसो जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव रन्थनिँदै जनकपुरधाम आइपुगे। जनकपुरधाम विमानस्थलमा नेता–कार्यकर्ताको भिड उर्लियोे। अध्यक्ष यादवको स्वगतमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहितका मन्त्रीहरू उभिए। उनको स्वागतका लागि मुख्यमन्त्री निवास मधेस भवनमा पनि अगुवा नेताकार्यकर्ता भेला भइसकेका थिए।

विमानस्थलबाट सयौं नेता–कार्यकर्ताको स्कर्टिङमा मधेस भवन पुगेका अध्यक्ष यादवले अगुवा नेता–कार्यकर्ताहरूलाई सम्बोधन गर्दै भने, ‘अहिले भ्रमका घुम्ती दुकान खोलिएका छन्, त्यहाँ भ्रम बिक्री भइरहेका छन्, सचेत रहनुहोला।’ उनको भनाइ महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीतर्फ लक्षित थियो। उनले अगाडि भने, ‘जो आफ्नो खुट्टामा उभिने दम राख्दैन, उनीहरूले मधेसको मुक्ति गर्छु भनेर डिङ हाक्न सुहाउँदैन।

अधिकारका लागि मधेस विद्रोहमा होमिएका बखत उनीहरू कहाँ थिए रु’ मधेस विद्रोह दबाउनेहरूले अहिले मधेसको एजेन्डा पूरा गराउँछु भन्नु हास्यास्पद भएको यादवको टिप्पणी छ। मधेसको शक्ति भनेकै जसपा भएको जिकिर गर्दै उनले भने, ‘मधेसलाई अधिकार सम्पन्न बनाउने शक्ति नै जसपा हो।’

यादव भदौ २२ गतेसम्म कोर मधेस अर्थात् प्रदेश २ को अस्थायी मुकाम जनकपुरधाममा बस्ने जसपा स्रोतको भनाइ छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा जान चाहने जनता समाजवादी पार्टी (जसपा) का प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले भदौ २२ गते सम्मको समय दिएको छ।

यो समयलाई दुवै पार्टीले ‘मधेस मन्थन’ का रूपमा उपयोग गर्दैछन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले भदौ २ मा ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशका आधारमा जसपाबाट अलग्गिएका महन्थ ठाकुर पक्षले लोसपा खोल्यो। जसपा र लोसपा दुवैले आफूलाई राष्ट्रिय दल भनेर परिचय गराए पनि उनीहरूको तागत भनेको मधेस नै हो। जसको पुष्टि यतिबेला जनकपुरमा जसपा–लोसपाबीच भइरहेको तागतको परीक्षणले गरेको छ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *