गठबन्धन दलभित्र मन्त्री छान्न सकस

काठमाडौं। शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको दुई साता भयो। तर अझै पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। गठबन्धनका दलभित्रको आन्तरिक समस्यालाई ध्यान दिँदै मन्त्री थप्न ढिलाइ गरेका देउवाले छिटै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका छन्।

देउवाले बुधबार गठबन्धनका शीर्ष नेताको बैठकमा मन्त्रिपरिषद् विस्तार नगर्दा आलोचना सुरु भएको बताए। उनले भने, ‘सरकारलाई पूर्णता नदिँदा बाहिर समेत राम्रो सन्देश गएन, आलोचना हुन थालिसक्यो। मलाई धेरै समस्या हुन लागिसक्यो।

जतिसक्दो चाँडो नाम दिनुस्।’ जवाफमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले छिटै नाम दिने बताए। उनीहरूले देउवालाई अप्ठेरो नपार्ने बताए पनि अहिलेसम्म गठबन्धनका कुनकुन दल सरकारमा सहभागी हुने र कतिकति मन्त्रालय पाउने भन्ने टुंगो लाग्न सकेको छैन।

देउवालाई प्रधानमन्त्री बनाउन मुख्य भूमिका निर्वाह गरेको भनिएका एमाले नेता माधवकुमार नेपाल पक्षको सरकारमा सहभागिता अझै टुंगो लाग्न सकेको छैन। नेपाल पक्ष पनि सरकारमा सहभागी हुने भए उनीहरू र जसपालाई पाँच–पाँच मन्त्रालय (मन्त्री), माओवादी केन्द्रलाई ६ र बाँकी आफूसँग राख्ने देउवाको तयारी रहेको एक नेताले जानकारी दिए।

बुधबारको बैठकमा नेपाल पक्षले सरकारमा सहभागी नहुने जनाएको थियो। नेपाल पक्षबाट बैठकमा सहभागी नेता विजय पौडेलले सरकारमा सहभागिता आफूहरूको प्राथमिकता नभएको बताउँदै कोभिडविरुद्धको खोप र कोभिडबाट प्रभावित सबै तहका जनता तथा व्यवसायीलाई राहत पुग्ने प्याकेजको व्यवस्था गर्न सुझाएका थिए। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *