सत्ता गठबन्धनले नै नयाँ सरकार बनाउने सङ्केत

काठमाडौं । आगामी सरकार गठबन्धन दलहरूकै सहमतिअनुसार बन्ने संकेत देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बालुवाटारमा छलफल हुनुले आगामी सरकार सत्ता गठबन्धनले नै बनाउने बलियो सम्भावना देखिएको हो ।

प्रधानमन्त्रीको प्रेस संयोजक गोविन्द परियारका अनुसार छलफलमा गठबन्धनको सहकार्यलाई निरन्तरता दिने बारेमा कुराकानी भएको छ । परियारले भने– ‘गठबन्धनका दलहरूको औपचारिक बैठक छिट्टै बोलाउने र गठबन्धनलाई कायम राख्ने विषयमा छलफल भएको छ ।’ प्रधानमन्त्री देउवासँग माओवादी केन्द्रका अध्यक्ष दाहालले दुई दिनअघि पनि भेट गरेका थिए ।

उता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो पक्षमा नेताहरूलाई ल्याउने कसरत थालेका छन् । तर, उक्त कसरत सफल हुने सम्भावना न्यून रहेको नेपाली कांग्रेसका एक नेताले बताए । कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दल एमाले नेतृत्वको गठबनधनबीच भएको चुनावी प्रतिस्पर्धाको अन्तिम नतिजा आउने क्रम जारी छ । हालसम्मको अवस्था हेर्दा सबैभन्दा ठूलो दल कांग्रेससहित सत्ता गठबन्धनको बहुमत आउने देखिन्छ । नेकपा एमाले दोस्रो ठूलो दलसहित प्रतिपक्षमा रहने देखिएको छ ।

राजनीतिमा यस्तै हुन्छ भन्ने अवस्था नरहे पनि सामान्यतया वर्तमान सत्ता गठबन्धनकै सरकार बन्ने अवस्था देखिएको टिप्पणी गर्दै राजनीतिक विश्लेषक शंकर तिवारीले भने– ‘प्रत्यक्ष र समानुपातिक गरी २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा कुनै पनि दलको बहुमत अर्थात् सरकार बनाउन आवश्यक १ सय ३८ सांसद संख्या नपुग्ने भएपछि दुईभन्दा बढी दलहरू मिलेर सरकार बन्ने संवैधानिक व्यवस्था छ । अहिलेकै अवस्था हेर्दा सत्ता गठबन्धनकै सरकार बन्ने सम्भावना बढी छ ।’

एमालेलाई वर्तमान सत्ता गठबन्धनबाहेकका दलहरू र स्वतन्त्रसमेत जोड्दा सरकार बनाउन आवश्यक बहुमत नपुग्ने देखिन्छ । तर, वर्तममान गठबन्धन टुटेर कांग्रेस बाहेकका सबै दलहरू मिलेको खण्डमा एमाले वा अरू कसैको नेतृत्वमा सरकार बन्ने सम्भावना भने खुला रहेको कतिपयको बुझाइ छ ।संविधानको धारा ७६ (१) अनुसार नयाँ सरकार बन्नका लागि प्रतिनिधि सभामा कुनै पनि दलको आवश्यक बहुमत नपुग्ने देखिएपछि सरकार गठनको पहिलो बाटो बन्द भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *