टेलिकम सेवाको गुणस्तर खस्कियो

काठमाडौं, साउन ११ । नेपाल टेलिकमले कमसल उपकरण प्रयोग गरेका कारण सेवाको गुणस्तर खस्किँदै गएको छ। टेलिकमले सेटिस्फ्याक्ट्री पर्फमेन्स सर्टिफिकेट (एसपिसी) रिपोर्ट राम्रो नभएका कम्पनीका उपकरण प्रयोग गरेका कारण सेवा खस्किँदै गएको विज्ञहरूले बताएका छन्।

नियमनकारी निकाय दूरसञ्चार प्राधिकरणले गरेको अध्ययनमा टेलिकमको सेवा कम गुणस्तरको भएको उल्लेख छ। प्राधिकरणले २०७७ चैतदेखि २०७८ जेठसम्म ड्राइभ टेस्टसहित गरेको अध्ययनमा टेलिकमको मोबाइल सेवा कम गुणस्तरको पाइएको हो। प्राधिकरणले काठमाडौं उपत्यकामा मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको थियो।

एनसेलको भन्दा टेलिकमको सेवा कम गुणस्तरीय रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ। आफ्नै नेटवर्कभित्र लोकल कल गर्दा सबैभन्दा कम समय (५.२७ सेकेन्ड) मा एनसेलको नेटवर्कमा कल स्थापना भएको छ भने नेपाल टेलिकमको मोबाइलमा कल गर्दा ९.३४ सेकेन्ड समय लागेको छ। त्यसैगरी स्मार्ट टेलिकमको नेटवर्कमा १०.२७ सेकेन्ड लागेको छ।

कल स्थापना हुने सफलताको दरमा पनि टेलिकम कमजोर देखिएको छ। एनसेलको कल स्थापना हुने सफलताको दर ९४.४३ प्रतिशत छ भने टेलिकमको नेटवर्कमा ९०.५१ प्रतिशत रहेको छ । आफैं फोन कल विच्छेद हुने दर टेलिकममा ०.८७ प्रतिशत, स्मार्ट टेलिकममा ०.४५ प्रतिशत र एनसेलमा ०.२ प्रतिशत रहेको छ। कम गुणस्तर मात्र नभएर टेलिकमको सेवा पटकपटक अवरुद्ध हुँदै आए पनि सुधार हुन सकेको छैन।

गत असार ९ गते एचएलआर सिस्टममा आएको समस्याका कारण करिब सवा दुई घण्टा सेवा अवरुद्ध भएको थियो। सेटिस्फ्याक्ट्री पर्फमेन्स सर्टिफिकेट राम्रो नभएको कम्पनीका उपकरण जडान गरेका कारण समस्या भएको आरोप लाग्दै आएको छ। टेलिकमको एचएलआर सिस्टम चीनको जेडटिई कर्पोरेसनले जडान गरेको हो । जेडटिई नेपाल टेलिकममा उपकरण बिक्री गर्ने सबैभन्दा ठूलो भेन्डर हो। यस कम्पनीले वर्षौंदेखि अर्बौं रुपैयाँका उपकरण टेलिकमलाई बिक्री गर्दै आएको छ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *