राजेन्द्र आचार्य, सौराहा । नेपाली कला, संस्कृति र परम्पराको आकर्षण विदेशी पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय बन्दै गएको छ । यसको सुन्दर उदाहरण बनेको छ चितवनको पर्यटकीय नगरी सौराहा, जहाँ विदेशी पर्यटकले नेपाली दाजुभाइसँगै सप्तरङ्गी टीका र फूलमाला लगाएर भाइटीका मनाएका छन्। दाजुभाइ, दिदीबहिनी र पर्यटकसँगै हात्तीलाई समेत टीका लगाएर तिहारको खुसी साटासाट गरिएको छ।
सौराहास्थित होटल पार्क साइडका सञ्चालक दाजुभाइ शेरबहादुर परियार र शिरलाल परियारले यस वर्ष पनि विदेशी पर्यटकसँगै भाइटीका मनाएका हुन्। आफ्नी दिदी सावित्री परियारको हातबाट टीका लगाएका उनीहरूले आफूले पालनपोषण गर्दै आएको हात्ती पूजाकलीलाई समेत सप्तरङ्गी टीका र सयपत्री तथा सुपारी फूलको माला लगाइदिए। नेपाली परम्पराअनुसार हात्तीलाई समेत टीका र माला लगाइएको दृश्यले विदेशी पर्यटकको ध्यान तानेको थियो।
नेदरल्यान्ड्सबाट चितवन घुम्न आएका वाइसे र उनकी श्रीमती एलिसका लागि यो अनुभव विशेष बन्यो। करिब एक महिनाअघि नेपाल आएका उनीहरू काठमाडौं हुँदै अन्नपूर्ण सर्किट, पोखरा र बन्दीपुरको भ्रमणपछि चितवन आइपुगेका हुन्। पहिलोपटक नेपाली भाइटीका पर्वमा सहभागी हुन पाउँदा उनीहरू निकै उत्साहित देखिन्थे। नेपाली संस्कृति र परम्परालाई नजिकबाट अनुभव गर्न पाउँदा आफूहरू निकै खुसी भएको उनीहरूको प्रतिक्रिया थियो।
होटल पार्क साइडका सञ्चालक शेरबहादुर परियार आफूहरू २५ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय रहेको बताउँछन्। विगत सात वर्षदेखि विदेशी पर्यटकसँगै नेपाली चाडपर्व मनाउने परम्परा सुरु गरिएको उनले बताए। पर्यटकलाई घुमाउने र होटलमा राख्ने मात्र नभई नेपाली समाज, संस्कृति र चाडपर्वसँग प्रत्यक्ष जोड्न सके पर्यटन प्रवद्र्धनमा थप योगदान पुग्ने उनको विश्वास छ।
उनका भाइ शिरलाल परियारले पर्यटकलाई भाइटीकाको महत्व र नेपाली परम्पराबारे जानकारी गराउँदै पर्वमा सहभागी गराएका थिए। सप्तरङ्गी टीका, फूलमाला र दाजुभाइ–दिदीबहिनीबीचको आत्मीयता देखेर पर्यटक पनि रमाएका थिए।
यसैगरी, चितवनकै पहिलो पाँचतारे मान्यता प्राप्त होटल रोयल टुलिपका अध्यक्ष रामेश्वर शाहले पनि विदेशी पर्यटकले नेपाली परम्पराअनुसार भाइटीका मनाएको देख्दा खुसी लागेको बताए। उनले आगामी वर्षदेखि आफूहरूले पनि पर्यटकलाई नेपाली चाडपर्वमा सहभागी गराउने योजना बनाएको सुनाए।
पर्यटन भनेको प्राकृतिक सुन्दरता र वन्यजन्तुको अवलोकन मात्र होइन, स्थानीय संस्कृति, रहनसहन र परम्पराको अनुभव पनि हो भन्ने सन्देश सौराहाका पर्यटन व्यवसायीले दिएका छन्। पर्यटकलाई नेपाली चाडपर्वको सहभागी बनाउने यस्ता प्रयासले सौराहाको पर्यटनमा नयाँ आकर्षण थप्नुका साथै नेपालको सांस्कृतिक पहिचान अन्तर्राष्ट्रियस्तरमा पुर्याउन सहयोग गर्ने देखिन्छ।

