आगामी दिनमा कुनै पनि देशले वर्षा मात्र होइन, पहाडलाई पनि पढ्न सक्ने प्रणाली विकास गर्न सकोस्ः अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरणका लागि मौसम तथा जलवायु तथ्याङ्कलाई वित्तीय निर्णयसँग जोड्नुपर्ने बताएका छन् ।

टर्कीको आन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत सिस्टम्याटिक अब्जर्भेसन्स फाइनान्सिङ फ्यासिलिटी (एसओएफएफ) को उच्चस्तरीय कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले गत अगस्ट २६ मा नेपालको भोटेकोशी–त्रिशूली करिडोरमा गएको बाढीको उदाहरण दिँदै विद्यमान मौसम तथा नदीको सतह मापन प्रणालीले पहिरो र हिमाली क्षेत्रको जोखिम पहिचान गर्न नसकेको बताए ।

‘त्यस बिहान नेपालसँग भएका हरेक उपकरणले वर्षा र नदीको सतह मापन गर्थे। तर पानी परेको थिएन,’ उनले भने, ‘नेपाल तथ्याङ्क नभएको देश होइन। अन्तर तथ्याङ्क र निर्णयबीचको हो ।’

मौसम तथा जलवायु अवलोकनलाई वित्तीय सुरक्षाको आधारका रूपमा व्याख्या गर्दै अर्थमन्त्री वाग्लेले तथ्याङ्कको अभावमा जोखिमअनुसार वित्तीय सहायता परिचालन गर्ने प्रणाली प्रभावकारी हुन नसक्ने बताए ।

उनका अनुसार पर्याप्त तथ्याङ्क नभए वित्तीय सहायता परिचालनका लागि आवश्यक ट्रिगर निर्धारण गर्न सकिँदैन । त्यसले प्यारामेट्रिक बीमा र पूर्वव्यवस्थित वित्तीय स्रोतको पहुँचसमेत सीमित बनाउँछ । परिणामस्वरूप विपद्का बेला देशहरू महँगो ऋणमा निर्भर हुनुपर्ने अवस्था आउँछ ।

नेपाल जलवायुजन्य जोखिमको गम्भीर असर भोगिरहेको उदाहरण बनेको उल्लेख गर्दै उनले अब वैज्ञानिक पूर्वानुमान र जोखिम पहिचान प्रणालीमा समेत लगानी गर्नुपर्नेमा जोड दिए ।‘तातो हुँदै गएको विश्व अन्धकारमा उडिरहेको छ र त्यसको भार सबैभन्दा कम थेग्न सक्ने देशहरूले नै सबैभन्दा बढी अन्धकारमा उडिरहेका छन्,’ उनले भने ।

उनले मौसम तथा जलवायु अवलोकनको आधारभूत संरचनामा लगानी बढाउन र त्यसलाई वित्तीय संयन्त्रसँग जोड्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे ।

‘आधार तहमा लगानी गरौँ र त्यसैमाथि मिलेर निर्माण गरौँ, ताकि आगामी दिनमा कुनै पनि देशले वर्षा मात्र होइन, पहाडलाई पनि पढ्न सक्ने प्रणाली विकास गर्न सकोस्,’ उनले भने । नेपालले सन् २०२६ मा भोगेका जलवायुजन्य विपद्बाट प्राप्त पाठलाई विश्व समुदायले आत्मसात् गर्नुपर्ने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *