चिनियाँ खोप ५५ वर्ष उमेर समूहलाई

काठमाडौं, असार २६ । चीनसँग खरिद गरिएको आठ लाख नौ हजार छ सय मात्रा कोरोनाविरुद्धको खोप काठमाडौँ आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले चीनबाट नेपाल सरकारले खरिद गरेको खोपमध्ये पहिलो चरणमा आठ लाखभन्दा बढी खोप आएको जानकारी दिए।

चीनको राजधानी बेइजिङबाट खोप लिएर नेपाल एयरलायन्सको वाइडबडी विमान शुक्रबार बिहान साढे ६ बजे काठमाडौँ अवतरण गरेको थियो । उक्त खोप टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ । सरकारले चीनसँग खरिद गरेको भेरोसेल खोप ५५ वर्ष उमेर समूहका व्यक्तिलाई लगाउने तयारी गरेको छ । चीनसँग नेपाल सरकारले ४० लाख मात्रा भेरोसेल खोप खरिद गरेको हो ।

परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले उक्त खोप छिट्टै सबै प्रदेश तथा जिल्लामा पठाइने जानकारी दिए। राष्ट्रिय खोप कार्यान्वयन योजनाअनुसार नै खोप लगाइने जानकारी दिँदै उनले अब दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप दिइने बताए । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *