बुटवललाई हराउँदै ललितपुर इलिमिनेटरमा

प्रज्जवल थापा । ललितपुर सिटी एफसी पहिलो संस्करणको फ्रेन्चाइज फूटबल प्रतियोगिता नेपाल सुपर लिग(एनएसएल) को इलिमिनेटरमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो प्लेअफ खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलको एक कदम नजिक पुगेको हो ।

अब ललितपुरले फाइनल प्रवेशको लागि बिहीबार हुने इलिमिनेटरको खेलमा काठमाडौं रेजर्सको सामना गर्नेछ । काठमाडौं मंगलबार भएको पहिलो क्वालिफायर खेलमा धनगढी एफसीसँग पराजित भएको थियो । धनगढीले भने फाइनलमा आफ्नो स्थान सुरक्षीत गरिसकेको छ ।

त्रिपेरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ललितपुरलाई जित दिलाउन ‘मार्की प्लेयर’ अन्जन विष्टले एक गोल गरे । अन्जनले खेलको ६० औं मिनेटमा गरेको गोल नै ललितपुरको जितमा निर्णायक बन्यो । बुटवलले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्न बाध्य भयो ।

अखिल नेपाल फूटबल संघ(एन्फा) को प्रविधिक सहयोगमा नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गरेको लिगमा सात टोलीको सहभागिता रहेको छ । सहभागि टिममा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, एफसी चितवन, धनगढी एफसी, बुटवल लुम्बिनी एफसी, विराटनगर एफसी र पोखरा थन्डर्स रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ । व्यक्तिगत विधाका विजेता सहित उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउनेछन् ।

तस्बिर:- रमेश सुवेदी/ मनोज थापा, खेलपाटी डट कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *