केन्द्रमा ओलीको तानाशाही शैली लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पोखरेलले देखाएका विपक्षी चार दलको आरोप

बुटवल । लुम्बिनी प्रदेशसभाका चार विपक्षी दलले मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति असंवैधानिक र अराजनीतिक भएको भन्दै राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले सोमबार बिहान बुटवलमा पत्रकार सम्मेलन गरी एमाले अल्पमतमा परेका बेला सोही दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त र शपथ गराउने गैरकानुनी कदमको डटेर सामना गर्ने बताएका हुन् ।

मुख्यमन्त्रीले राजीनामा दिएर षड्यन्त्रपूर्वक संसद् छल्ने नाटक गरेको भन्दै त्यही संसद्बाटै उनलाई हटाउने उनीहरुले बताएका छन् । पत्रकार सम्मेलनमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता वीरेन्द्रकुमार कानोडियाले आफूहरूले ४२ सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गर्दागर्दै ३७ जना सांसद भएको दललाई मुख्यमन्त्री बनाउनुले संविधानको धज्जी उडेको टिप्पणी गरे ।

उनले विशेष अधिवेशन बोलाइएको संसद्बाट भागेर मुख्यमन्त्रीबाट राजीनामा दिनु र अल्पमतमै मुख्यमन्त्री बन्नु सामान्य विषय नभएको बताए । नेता कानोडियाले नीति, कार्यक्रम र बजेट संसद्बाटै ल्याउनुपर्ने भन्दै त्यस बेला सरकारलाई पराजित गरेर देखाउने बताए । केन्द्रमा ओलीको तानाशाही र अधिनायकवादी शैलीको नमुना लुम्बिनी प्रदेशमा शंकर पोखरेलले देखाएको उनले बताए ।

माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले केन्द्रमा चार दलका नेताको बैठक बसेकाले केन्द्रको निर्देशनअनुसार विरोधका कार्यक्रम तय हुने बताए ।

उनले अल्पमतको यो सरकारलाई टिक्न नदिने बताए । आइतबार बिहान राजीनामा दिएका मुख्यमन्त्री पोखरेललाई दिउँसो प्रदेशप्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ को १ बमोजिम एकल सरकार बनाउन मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । एमालेमा त्यस बेलासम्म ४१ सदस्य थिए । विपक्षी गठबन्धनले भने तीन जनाले आफूलाई साथ दिएकाले एमालेमा बहुमत नभएको दाबी गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *