एनपीएलमा आज जनकपुर र लुम्बिनी तथा विराटनगर र काठमाडौं भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स आमनेसामने हुँदा दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पहिलो खेल दिउँसो १२:३० बजे र दोस्रो खेल बेलुकी ५ बजे शुरु हुनेछ ।

पहिलो खेलमा जनकपुर र लुम्बिनी दुवै टोली तेस्रो जितको खोजीमा मैदान उत्रिनेछन् । हाल तीन खेलबाट पाँच अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा छ । चार खेल खेलेको जनकपुर चार अंकसहित चौथो स्थानमा रहेको छ ।

जनकपुरले प्रतियोगिताको पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार बेहोरेको थियो । त्यसपछि दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई आठ विकेट र तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई नौ रनले पराजित गरेको जनकपुर चौथो खेलमा विराटनगर किंग्ससँग दुई रनले पराजित भएको थियो ।

यता लुम्बिनी प्रतियोगितामा हालसम्म अपराजित छ । उसले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको थियो । वर्षाका कारण चितवन राइनोजसँगको दोस्रो खेल रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए । तेस्रो खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गरेको थियो ।

आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाज भिड्नेछन् । विराटनगर काठमाडौंलाई हराउँदै अंकतालिकाको शीर्ष स्थानमा उक्लिने लक्ष्यमा हुनेछ भने काठमाडौं जित निकाल्दै आफ्नो स्थान सुधार गर्न चाहन्छ ।

चार खेलबाट चार अंक जोडेको विराटनगर हाल अंकतालिकाको दोस्रो स्थानमा छ । सुरुवाती दुई खेलमा चितवन राइनोजसँग आठ रन र कर्णाली याक्ससँग चार विकेटले पराजित भएको विराटनगरले त्यसपछिका दुई खेलमा लगातार जित निकालेको थियो । उसले तेस्रो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३५ रन र चौथो खेलमा जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गरेको थियो ।

यता काठमाडौंले प्रतियोगितामा दुई खेल खेलेको छ । पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको काठमाडौंले दोस्रो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराएको थियो । दुई अंक जोडेको काठमाडौं हाल अंकतालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *