काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै अन्याय, अत्याचार र ज्यादतीविरुद्ध सबैले आवाज उठाउनुपर्ने बताएकी छन् ।
सामाजिक संजालमार्फत उनले नाजी जर्मनीको समयमा जर्मन धर्मगुरु मार्टिन निमोलरले व्यक्त गरेको प्रसिद्ध आत्मस्वीकृति र चेतावनीलाई स्मरण गर्दै अन्याय हुँदा मौन बस्नु अन्ततः आफैँमाथि अन्याय निम्त्याउने बाटो भएको उल्लेख गरेकी छन् ।
झाँक्रीले निमोलरको भनाइ उदृत गर्दै सुरुमा कम्युनिस्ट, त्यसपछि यहुदी र क्याथोलिक समुदायमाथि दमन हुँदा अरूले मौनता साँधेको र अन्ततः आफूलाई खोज्न आउँदा आफ्नो पक्षमा बोलिदिने कोही नरहेको प्रसंग प्रस्तुत गरेकी छन् ।
यो भनाइ दोस्रो विश्वयुद्धपछि निमोलरले दिएका भाषणहरूको सार हो । नाजी शासनको दमन र नरसंहारका बेला जर्मन समाजका विभिन्न समुदाय तथा बौद्धिक वर्गले देखाएको मौनताप्रति उनको पश्चाताप यसमा अभिव्यक्त भएको थियो ।
झाँक्रीले उक्त ऐतिहासिक प्रसंगलाई नेपालको वर्तमान राजनीतिक परिस्थितिसँग जोड्दै प्रश्न गरेकी छन्, ‘मेरो प्रश्न के हामीले पनि यस्तै नियति भोग्न अभिशप्त हुने हो ?’
उनले अन्याय कसैमाथि भएपनि त्यसविरुद्ध बोल्नुपर्नेमा जोड दिँदै लेखेकी छन्, ‘हर प्रकारका अन्याय, अत्याचार र ज्यादती जो कोहीमाथि होस्, त्यसको विरुद्ध बोल्नुपर्छ। ती हाम्रा मुद्दा हुन्, सरोकारका विषय हुन्।’ सरकारका पछिल्ला गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै उनले लेखेकी छन्, ‘यो सरकारले गर्दैछ, ठीक गर्दै छैन।’
