अस्पतालमा बेड अभाव भएपछि भुइँमा राखेर उपचार

दाङ । दाङको बेलझुन्डीस्थित लुम्बिनी प्रदेशस्तरीय कोरोना विशेष अस्पतालमा बेड अभाव हुँदा कतिपय बिरामी भुइँमा बसेर उपचाररत छन् । यहाँ भएका बेड संक्रमितले भरिभराउ भए पनि उपचारको अर्को व्यवस्था हुन सकेको छैन ।

व्यवस्थापक द्रोणबहादुर ओलीले २५ बेड क्षमताको अस्पतालमा आन्तरिक व्यवस्थापनबाट ३८ बेड पुर्‍याएर बिरामीको उपचार गरिरहेको बताए । तर, बिरामीको संख्या दिन–प्रतिदिन बढ्दै गएपछि भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता आइपरेको व्यवस्थापक ओलीको भनाइ छ ।

‘अस्पतालको ढोकामा आएर बिरामी बसेपछि हामीले बेड छैन भनेर कसरी फर्काउनु ?’, ओलीले भने, ‘प्रदेशस्तरीय अस्पताल भनेपछि अन्य जिल्लाबाट पनि बिरामी आएका छन् । हामीले कसरी मिलाएर उपचार गराउने हो समस्या भएको छ । अक्सिजन बिना उपचार सम्भव छैन । भुइँमा राखेर उपचार गर्न पनि गाह्रो भयो। सरकारले यसमा चासो दिनुपर्‍यो ।’

उनका अनुसार सल्यान, प्यूठान, रुकुम, दाङलगायत जिल्लाका बिरामी आउने गरेका छन् । बेड छैनभन्दा गेटमा धर्ना दिने गरेको उनको भनाइ छ । उनले अस्पताललाई तत्काल ‘फुल फेज’मा चलाउनुपर्ने बताए । ‘बिरामी कहाँ राख्ने हो ? त्यसतर्फ ध्यान दिऊँ’, उनले भने, ‘अस्पताल पुगेको संक्रमितलाई उपचार गर्ने वातावरण बनाऊँ ।’

पहिलो चरणको कोभिडमा सय बेडमा सञ्चालन भएको यो अस्पताल पछिल्लो समय २५ बेडमा सीमित थियो । ‘अहिले २५ बेडमा अस्पताल सञ्चालन भइरहेको छ’, उनले भने, ‘अस्पतालमा ३८ बेड बनाएर बिरामी राख्दा पनि थप बिरामीको उपचार गर्न समस्या भएको छ ।’

जनस्वास्थ्य निरीक्षक विमल केसीले कोरोना संक्रमण समुदायस्तरमा अत्यधिक रूपमा बढेको बताए । ‘कोरोना समुदाय स्तरमा पुगेको छ । अस्पताल भरिभराउ भएका छन् । होटल आइसोलेसनको रूपमा सञ्चालन भइरहेका छन्’, उनले भने । अब तत्काल अस्पतालको क्षमता विकास गरिनुपर्ने बताएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *