ट्रम्पका दूत रुस र युक्रेन जाँदै, शान्ति प्रस्तावमा वार्ता हुने

किएभ । रुस–युक्रेन युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास तीव्र भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कफ र जेरेड कुशनरले सप्ताहन्तमा रुस र युक्रेनको भ्रमण गर्ने भएका छन्।

विट्कफ र कुशनरले शनिबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने र आइतबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट्ने कार्यक्रम रहेको छ।

जेलेन्स्कीले अमेरिकी दूतहरूसँग आइतबार भेटवार्ता हुने पुष्टि गरेका छन्। ट्रम्पले पनि दूतहरूले युद्ध अन्त्य गर्ने प्रस्ताव लिएर रुस र युक्रेन जान लागेको बताएका छन्।

विट्कफ र ट्रम्पका ज्वाइँ कुशनरले रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी शान्ति प्रयासको नेतृत्व गर्दै आएका छन्। उनीहरूले यसअघि रुसमा पटक–पटक वार्ता गरिसके पनि युक्रेन भ्रमण भने पहिलोपटक गर्न लागेका हुन्।

रुस र युक्रेनबीच युद्ध अन्त्यका सर्तमा अझै गम्भीर मतभेद छ। रुसी राष्ट्रपति पुटिनले युक्रेनबाट थप क्षेत्रीय रियायत माग्दै आएका छन्। युक्रेन र उसका युरोपेली सहयोगीहरूले भने रुसी सर्त अस्वीकार गर्दै आएका छन्।

यसैबीच, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शुक्रबार किएभमा युक्रेनको सुरक्षा प्रमुख ओलेक्सान्द्र पोक्लादको कार्यालयमा रुसी ड्रोन आक्रमण भएको बताएका छन्। आक्रमणमा पोक्लाद सुरक्षित रहेको जनाइएको छ।

शनिबार दक्षिणपूर्वी सहर कामियान्स्केमा रुसी आक्रमणमा चार जनाको मृत्यु भएको क्षेत्रीय अधिकारीहरूले बताएका छन्। पाँच जना घाइते भएको पनि जनाइएको छ।

रुसी राष्ट्रपति पुटिनले बिहीबार शान्ति सम्झौताको सम्भावना रहेको बताएका थिए। तर उनले शान्ति सम्झौताका लागि पहिले मस्को र किएभबीच सहमति हुनुपर्ने बताउँदै युक्रेनबाट थप क्षेत्रीय रियायतको माग दोहोर्याएका छन्।

रुसी सरकारी समाचार संस्था तासका अनुसार विट्कफ र कुशनर सेप्टेम्बर ५–६ मा मस्को हुँदै किएभ पुग्ने अपेक्षा गरिएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने भेटवार्ताबारे औपचारिक जानकारी सम्पर्क भएपछि मात्र दिइने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *