जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्नुपर्छ

 – डा. रवीन्द्र पाण्डे।
..
– गतसाल फैलिएको महामारीभन्दा अहिलेको फरक छ । लक्षणविहिन धेरै छन् भने लक्षण देखिएका गम्भीर भएर अस्पताल भर्ना भएका छन् ।
– बेलायतको नयाँ प्रजातिले बालबालिका तथा युवालाई तुलनात्मक रुपमा धेरै असर गरेको छ ।
– बेलायतको प्रजाति गत सालको कोरोना भाइरसभन्दा ७० प्रतिशत धेरै संक्रामक छ ।
– दीर्घरोग नभएका व्यक्ति पनि गम्भीर भएर अस्पतालमा छन् ।
– गतसाल देखिएका कोभिड्का लक्षण यसपटक फरक छन् । यसपटक ज्वरो, खोकी नभएपनि पखाला, बान्ता, थकान, बिमिरा आदि लक्षणमात्र भएका व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ ।
– कुनै लक्षण देखियो भने वा संक्रमितसंग भेट भएको अवस्था भए परीक्षण गर्न ढिलो नगरौं ।
– केहि बालबालिकालाई लक्षण नदेखिएर एक्कासी निमोनिया देखिएको र जांच गर्दा कोभिड पुष्टि भएको छ ।
– केहि संक्रमितलाई पटकपटक पिसिआर नेगेटिभ देखिएपनि कोभिड निमोनिया भएर फोक्सो ड्यामेज भएको उपचाररत चिकित्सकले बताएका छन् ।
– हरेक अस्पतालमा संक्रमितको चाँप बढेको छ ।
– भारतसंग धेरै देशको हवाइ सम्पर्क बन्द छ । दैनिक हजारौं भारतीय नेपाल आएर अरब लगायतका देशमा जाँदैछन् । भारतबाट नेपाल आउने सबैलाई अनुगमन, निगरानी र परीक्षणमा चुक्नु हुँदैन । सिमानाकामा ब्यापक कडाइ / परीक्षण / क्वारेन्टिन / आइसोलेसनको पूर्ण तयारी गर्न ढिलो गर्नु हुँदैन ।
– संक्रमण थोरै भएको बेला कन्ट्याक्ट ट्रेसिंग प्रभावकारी हुन्छ । अहिले कन्ट्याक्ट ट्रेसिंग निकै फितलो छ । सरकार मापदण्ड पालनाको लागि कडा नहुने हो भने यो पटकको लहरले ठूलो क्षति गर्ने सम्भावना छ ।
– जनस्वास्थ्यका मापदण्डमा कडाइ, अनुगमन, निगरानी तथा जरिवाना नगर्ने देश नेपाल मात्र हो ।
– संक्रमण फैलिएपछि दुख पाउनुभन्दा संक्रमण रोकथामको लागि सरकार र नागरिक अत्यन्तै जिम्मेवार हुनु जरुरी छ । गतसाल गरेका गल्ती दोहोर्याउनु भएन ।
– हामी आम नागरिक अत्यन्तै जिम्मेवार हुनु जरुरी छ । हाम्रै लापरबाहीले संक्रमण सर्ने हो । संक्रमित भएर भौतिक, आर्थिक, मानसिक लगायत असर भोग्नुपर्ने हामीले नै हो | तसर्थ हामी अत्यन्तै जिम्मेवार भएर अनिबार्य रुपमा नाक र मुख छोपिने गरि डबल मास्क लगाऔं । मान्छेबाट मान्छेमा सर्ने भएकोले मान्छेसंग दुरी कायम गर्न नचुकौं ।
– जोखिम अवस्थामा बिद्यालय बन्द गरेर भएपनि बालबालिकालाई बचाउनु पर्दछ । एक बर्ष पढाइ ढिलो भए केहि असर होला तर जीवन अमुल्य छ । अनलाइन पढाइको बिकल्प छैन | बिद्यालयबाट संक्रमण घरघरमा पुग्यो भने अकल्पनीय अवस्था हुनसक्छ ।
– धेरै दौडधुप गरेर जोखिम मोल्नुभन्दा सम्भव भएसम्म घरमा बस्ने बानी गरौँ | कार्यस्थललाई सुरक्षित बनाऔं ।
– सरकारले जारी गरेका सुचना तथा निर्देशन पालना गरौँ । आधिकारिक संस्था वा विज्ञको मात्र कुरा सुनौं । भ्रमको पछाडि नलागौं । भ्रम सबैभन्दा घातक महामारी हो ।
– पाएसम्म कोरोनाको खोप लगाएर सुरक्षित बनौं । यसको अतिरिक्त इन्फ्लुएन्जा र निमोनियाको खोप पनि लगाऔं ।
– पौष्टिक खाना, व्यायाम, निद्रा, सकारात्मक सोंच तथा प्रकृतिको उपभोग नै सबैभन्दा ठूलो इम्युन बुस्टर हुन् ।
– नलागुन्जेल कोभिड केहि होइन । लागेपछि बर्बाद हो । आइसीयुबाट फर्केका व्यक्तिलाई थाहा हुन्छ. कोभिड के हो भन्ने ?
– देश लकडाउनको बाटोमा जानु हुँदैन । लकडाउनमा नजानको लागि जनस्वास्थ्य मापदण्ड पालना गर्ने / गराउने प्रमुख उपाय हो ।
यो पटक एकदम सिरियस बनौं । डर / त्रास / अत्यास मानेर हैन, योजनापूर्वक सतर्क बनौं ।
सबैले प्रण गरौँ – म संक्रमित हुनेछैन, मेरो परिवार र समाजलाई मैले बचाउनेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *