फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिगको अक्सन आज

प्रज्जवल थापा । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फूटबल प्रतियोगिता नेपाल सुपर लिग(एनएसएल) को अक्सन आज हुँदै छ । सोल्टी क्राउन प्लाजामा हुने अक्सन बिहान ११ बजे शुरु हुनेछ ।

आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्टले अक्सनमा १ सय ५८ जना खेलाडी समावेश गरेको जनाएको छ । अक्सनमा सहभागी खेलाडीलाई एम्फाले ३ तहमा विभाजन गरेको छ । हाल राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका खेलाडी सहित विदेशी लिग खेलिरहेका किरण कुमार लिम्बू, प्रकाश बुढाथोकी र अभिषेक रिजाल ‘ए’ क्याटेगोरीमा रहेका छन् । यस्तै ‘बी’ क्याटेगोरीमा ६५ र ‘सी’ क्याटेगोरीमा ५८ खेलाडी रहेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग आगामी वैशाख ११ देखि २५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हुनेछ । सात टोलीको सहभागिता रहने लिग सिङ्गल राउण्ड रोबिनको आधारमा खेलाइनेछ । लिगमा कुल १९ खेल हुनेछ । फ्रेन्चाइज टिमहरुमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब र धनगढी फुटबल क्लब रहेका छन् ।

यसअघि नै धनगढी फूटबल क्लबले विशाल राईलाई मार्की खेलाडी र नाइजेरियिन प्रशिक्षक तोपे फुजालाई मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गरिसकेको छ । यस्तै त्रिभुवन आर्मी फूटबल क्लबका कप्तान भरत खवास एफसी चितवनको मार्की खेलाडी रहेका छन् । चितवनको प्रशिक्षको रुपमा मेघराज केसीछन् ।

ललितपुर सिटीले मार्की खेलाडीको रुपमा मनाङ मर्स्याङ्दी क्लबका अन्जन विष्टलाई अनुबन्ध गरिसकेको छ । बिहीबार विराटनगर सिटी फूटबल क्लबलेपनि रन्जित धिमाललाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ । सबै क्लबले बाँकी खेलाडी अक्सनबाट किन्नेछन् । प्रत्येक टिमले विभिन्न श्रेणीबाट २० खेलाडी लिनेछन् ।

लिगमा विदेशी खेलाडीकोपनि उपस्थिति रहनेछ । हरेक टोलीले टिममा ३ जना विदेशी खेलाडी राख्न पाउनेछन् भने मैदानमा दुई जना मात्र उतार्न पाउनेछन् ।

तस्बिर:- एन्फा, नेपाल सुपर लिग फेसबुक पेज

Leave a Reply

Your email address will not be published. Required fields are marked *