त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा १२ हजार दर्शकलाई मात्र रंगशाला प्रवेशमा अनुमति

काठमाडौं । नेपाल, बंगलादेश र किर्गिस्तान सम्मिलित त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको छ । दशरथ रंगशालामा यही चैत १० देखि १६ गते सम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता किरणले प्रतियोगिता दर्शकले रंगशालामा बसेर खेल हेर्न पाउने बताए । कोरोनाको महामारीलाई ध्यानमा राखेर एन्फाले १२ हजार दर्शकलाई मात्र मैदान प्रवेशमा अनुमति दिने जनाएको छ ।

त्यसका लागि एन्फाले प्रतियोगिताको टिकट मूल्य समेत तोकेको छ । जसअनुसार एन्फाले सामान्य प्याराफिट तर्फ ७ सय र भीआईपीतर्फ १५ सय रुपैयाँ टिकटको मूल्य तोकेको छ ।

दशरंथ रंगशालामा आयोजना हुन लागेको प्रतियोगिताका लागि एन्फाले रंगशाला तयारीलाई तिब्रता दिएको छ । यसअघि नै सार्वजनिक भएको तालिका अनुसार नेपालले पहिलो खेलमा किर्गिस्तानसँग १२ गते खेल्दै छ भने दोस्रो खेल १४ गते बंगलादेशसँग खेल्दैछ ।

यही प्रतियोगितामा सहभागिता जनाउनका लागि आजै बंगलादेशको टोली नेपाल आएको छ । बंगलादेशबाट ४० सदस्यीय टोली नेपाल आएको हो । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *