प्रज्जवल थापा । भारतविरुद्वको पहिलो टि–२० खेलमा इङ्ल्याण्ड विजयी भएको छ । अहमदाबादमा भएको खेलमा इङ्ल्याण्डले भारतलाई ८ विकेटले पराजित गरेको हो ।
यससँगै इङ्ल्याण्डले पाँच खेलको सिरिजमा १–० को अग्रता लिएको छ । १२५ रनको विजयी लक्ष्य पछ्याएको इङ्ल्याण्डले १५.३ ओभरमा २ विकेटको क्षतिमा १३० रन जोड्दै लक्ष्य भेट्टायो । इङ्ल्याण्डको लागि ओपनर जेसन रोएले ३२ बलमा ४ चौका र ३ छक्काको मद्दतमा सार्वधिक ४९ रन जोडे । यस्तै अर्का ओपनर जोस बट्लरले २८ रन जोड्दा डेविड मालनले २४ र बैर्स्ट्रोले २६ रनको योगदान गरे ।
भारतको लागि वासिङ्टन सुन्दरले २.३ ओभरमा १८ रन खर्चिदै १ विकेट लिँदा युज्वेन्द्र चहालले ४ ओभरमा ४४ रन खर्चिदै १ विकेट लिए ।
यसअघि नरेन्द्र मोदी रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२४ रन मात्र बनाएको थियो । भारतले खेलमा गतिलो शुरुवात गर्न सकेन । शिर्ष तीन ब्याट्सम्यान सस्तैमा आउट भएपछि भारतको इनिङ्स मध्यक्रमका ब्याट्सम्यानले समाल्ने प्रयास गरेका थिए ।
ओपनरद्वय शिखर धवन ४ र केएल राहुल १ रनमा आउट भए । यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान विराट कोहलीले खाता नखोली पभिलियन फर्किए । त्यसपछि ब्याटिङ गर्न आएका ऋषव पन्त र श्रेयस आएरले भारतको इनिङ्स समाले । पन्त २३ बलमा २१ रन जोडेर आउट हुँदा आयरले ४८ बलमा ८ चौका र १ छक्काको मद्दतमा ६७ रन जोड्दै भारतलाई सम्मानजनक स्कोरमा पुर्याए । यस्तै हार्दिक पाण्डयले १९, अक्सर पटेलले ९ र वासिङटन सुन्दरले ३ रनको योगदान गरे ।
इङ्ल्याण्डको लागि जोफ्रा आर्चरले ४ ओभर बलिङ गर्दै २३ रन खर्चेर ३ विकेट लिए । यस्तै अदिल रसिद, मार्क वुड, क्रिस जोर्डान, बेन स्टोक्सको नाममा एक–एक विकेट रह्यो । दुई टोलीबिचको दोस्रो टि–२० खेल आइतवार हुनेछ ।

