पूर्वसांसद उप्रेतीको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना नेता एवं पूर्वसांसद डा शङ्करप्रसाद उप्रेतीको निधनप्रति दुःख व्यक्त गरेका छन् । कांग्रेस झापाका नेता डा उप्रेतीको शनिबार राति ८८ वर्षको उमेरमा काठमाडौँमा निधन भएको हो ।

सभापति देउवाले आइतबार शोक विज्ञप्तिमार्फत उनको निधनबाट आफूले एक पुरानो साथी, पार्टीले एक निष्ठावान् अग्रज र समाजले अथक समाजसेवी गुमाएको जनाएका छन् । सभापति देउवाले उप्रेतिप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

विसं २०४६ को परिवर्तनपछि कांग्रेसका तर्फबाट ६ वर्षसम्म राष्ट्रियसभाका सदस्य रहेका उप्रेतीले पञ्चायत विरोधी आन्दोलनका क्रममा पटकपटक जेल परेका थिए ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका उप्रेतीले चिकित्सकका रुपमा विसं २०१८ मा कैलालीको धनगढीबाट सेवा शुरु गरेर पछि भोजपुर हुँदै झापाको शनिश्चरेमा आफ्नै घरमा क्लिनिक स्थापना गरी करीब ५० वर्ष चिकित्सा सेवा गरेका थिए ।

आर्थिक रुपले सामान्य स्थितिमा रहेका जोकोही नागरिकले उनीबाट निःशुल्क उपचार पाउने गरेका थिए । उनको आजै पशुपतिमा दाहसंस्कार गरिएको छ । स्व उप्रेतीका छोरा प्रा डा सञ्जीव उप्रेती हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *