काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको गरिमा र प्रतिष्ठाभन्दा कुनै पनि व्यक्ति ठूलो हुन नसक्ने बताएका छन् । आफ्नो व्यक्तिगत कमजोरीका कारण पार्टीलाई क्षति पुग्ने अवस्था आएमा आफूलाई सभापति पदबाट हटाएर अघि बढ्न उनले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले पार्टीको नेतृत्वमा रहँदा आफ्नो व्यक्तिगत, पारिवारिक तथा आर्थिक जीवनका हरेक पक्षमा जिम्मेवार र सचेत रहने प्रतिबद्धता जनाए ।
आफूबाट कुनै गल्ती भए त्यसको जिम्मेवारी पार्टीले नभई व्यक्तिले नै लिनुपर्ने उनको भनाइ थियो । लाखौँ नेता तथा कार्यकर्ताको योगदान, रगत र पसिनाबाट बनेको कांग्रेस सार्वजनिक सम्पत्ति भएकाले नेतृत्वको कमजोरीको भार पार्टीलाई बोकाउन नहुने उनले स्पष्ट पारे ।
‘कुनै दिन म चुकेको महसुस भएमा नेपाली कांग्रेसले मलाई सभापतिबाट अलग गरेर अगाडि बढ्नुपर्छ । किनकि व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन,’ थापाले भने ।
नेतृत्वका गल्ती र कमजोरीको संरक्षण गर्न खोज्दा संस्थाकै प्रतिष्ठा र अस्तित्वमा असर पर्न सक्ने उल्लेख गर्दै उनले पार्टीभित्र जवाफदेहिता र जिम्मेवारीको संस्कार विकास गर्नुपर्नेमा जोड दिए ।
सभापति थापाले मुलुकबाट युवाहरू विदेशिने क्रमप्रति चिन्ता व्यक्त गर्दै स्वदेशमै सम्मानपूर्वक जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्नु कांग्रेसको प्राथमिकता हुनुपर्ने बताए । दसैँको फूलपातीका दिनसमेत हजारौँ युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिन बाध्य हुनु देशका लागि गम्भीर चिन्ताको विषय भएको उनको भनाइ थियो ।
रातारात परिवर्तन सम्भव नभए पनि युवालाई नेपालमै बस्न सक्ने र स्वाभिमानका साथ जीवन बिताउन सक्ने वातावरण बनाउन इमानदार प्रयास गर्न सकिने उनले बताए ।
‘हामी रातारात चमत्कार गरेर उनीहरूलाई फर्काउन सक्दैनौँ, तर स्वाभिमानका साथ नेपालमै बस्न सक्ने वातावरण बनाउन इमानदार प्रयास गर्न सक्छौँ,’ उनले भने ।
पार्टीभित्र देखिएका असन्तुष्टि सम्बोधन गर्ने जिम्मेवारी आफूले लिने बताउँदै थापाले नेता तथा कार्यकर्तालाई निराशा र गुनासोमा सीमित नभई जनताका समस्यामा केन्द्रित हुन आग्रह गरे । असन्तुष्ट पक्षलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले सबैलाई आफ्नो काम र परिणाममार्फत जनताको विश्वास जित्न आह्वान गरे ।
कांग्रेसले सकारात्मक सोच, ऊर्जा र आशाको केन्द्रका रूपमा आफूलाई स्थापित गर्नुपर्ने उनको भनाइ थियो । चुनौतीहरू धेरै भए पनि अवसरको सम्भावना उत्तिकै रहेको उल्लेख गर्दै थापाले पार्टीका तल्लो तहका कार्यकर्ता र आम नागरिकसँग प्रत्यक्ष जोडिएर उनीहरूका सुख–दुःखमा साथ दिन निर्देशन दिए ।
अब निराशा र गुनासोभन्दा काम, कर्म र परिणामलाई प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउने अभियानमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
