वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको रणनीति कमजोर बन्दै गएपछि आफ्ना वरिष्ठ सहयोगी र राजनीतिक रणनीतिकारहरूमाथि असन्तुष्टि जनाउन थालेका छन् ।
निर्वाचन अभियानमा भएको खर्च, निर्वाचन क्षेत्रको पुनःसीमाङ्कन र उम्मेदवार छनोटप्रति प्रश्न उठाउँदै उनले पार्टीले अमेरिकी कंग्रेसमा आफ्नो नियन्त्रण कायम राख्न संघर्ष गरिरहेका बेला सहयोगीहरूलाई दोष दिन थालेको आन्तरिक छलफलसँग परिचित तीन व्यक्तिले बताएका छन् ।
नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनमा ट्रम्प स्वयं उम्मेदवार छैनन् । तर, निर्वाचनमा मतदान गर्न नजाने सम्भावित मतदातालाई आकर्षित गर्ने उद्देश्यले उनले आफ्ना समर्थकहरूलाई आफू नै उम्मेदवार भएको ठानेर मतदान गर्न आग्रह गर्दै आएका छन् । उनले देशभर तीव्र गतिमा चुनावी अभियानसमेत सञ्चालन गरिरहेका छन् ।
यद्यपि, निर्वाचन रणनीति निर्माणमा आफ्नो भूमिकाबारे र प्रतिस्पर्धात्मक निर्वाचन क्षेत्रमा रिपब्लिकन उम्मेदवारहरूको प्रदर्शनमा आफ्नो घट्दो लोकप्रियताले पारेको प्रभावबारे भने ट्रम्पले प्रायः स्वीकार गर्न चाहेका छैनन् ।
ट्रम्पको असन्तुष्टिको मुख्य केन्द्रमा उनका लामो समयदेखिका सहयोगी तथा ट्रम्पको समर्थनमा रहेको राजनीतिक सुपर पिएसी (पीएसी) ‘मागा इंक’ का प्रमुख जेम्स ब्लेयर र ह्वाइट हाउसकी चिफ अफ स्टाफ सुसी वाइल्स रहेका छन् ।
यसअघि खासै आलोचनामा नपरेकी वाइल्सको राजनीतिक व्यवस्थापनसम्बन्धी भूमिकामाथि पनि प्रश्न उठ्न थालेको छ ।
ट्रम्पले चुनावी अभियानका लागि छुट्याइएको रकम व्यवस्थापन गर्न ब्लेयर असफल भएको आरोप लगाएका छन् । त्यस्तै, ह्वाइट हाउसका केही अधिकारी र ट्रम्पका सहयोगीहरूले राजनीतिक अभियानको निगरानीमा वाइल्सको भूमिकामाथि प्रश्न उठाएका छन् ।
चुनावी अभियानमा ठूलो रकम खर्च गर्दा पनि रिपब्लिकन उम्मेदवारहरूको जनमत सर्वेक्षणमा सुधार किन हुन नसकेको भन्दै ट्रम्पले प्रश्न उठाइरहेका बेला उनका सल्लाहकारहरू पनि एकअर्कालाई दोष दिन थालेका छन् । एक व्यक्तिका अनुसार वाइल्सले ब्लेयरलाई दोष दिएकी छन् भने ब्लेयरले ह्वाइट हाउसको विधायिकी मामिला हेर्ने टोलीलाई जिम्मेवार ठह¥याएका छन् ।
“वास्तवमा अहिले एकअर्कामाथि दोष थोपर्ने क्रम चलिरहेको छ,” ती व्यक्तिले भने । विभिन्न जनमत सर्वेक्षणले अमेरिकी प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीले बहुमत हासिल गर्ने सम्भावना देखाएका छन् । यद्यपि, सिनेटको परिणाम भने अझै अनिश्चित छ ।
प्रतिनिधिसभामा नियन्त्रण गुमाएमा ट्रम्पको कार्यकालका अन्तिम दुई वर्षमा उनको विधायिकी कार्यसूची अघि बढाउन कठिन हुनेछ । साथै, डेमोक्रेटिक सांसदहरूले ट्रम्प प्रशासनमाथि अनुसन्धान गर्न र आवश्यक कागजात तथा प्रमाण माग गर्न सक्ने अधिकार प्राप्त गर्नेछन् ।
यसैबीच, ट्रम्पले शुक्रबार वाइल्सको बचाउ गरेका छन् । उनले वाइल्सलाई ‘बुद्धिमान’ र ‘दृढ’ भन्दै उनी आफ्नो पदमा कायम रहने बताएका छन् ।
“सुसी यहाँ छिन् र उनी लामो समयसम्म यहाँ रहनेछिन्,” ट्रम्पले भने । ह्वाइट हाउसका प्रवक्ता डेभिस इन्गलले भने समाचारमा उद्धृत स्रोतहरूको भनाइ अस्वीकार गरेका छन् । उनले ती दाबीलाई ‘आधारहीन अड्कलबाजी फैलाउने आफूलाई विज्ञ ठान्ने व्यक्तिहरूको अभिव्यक्ति’ भन्दै खारेज गरेका छन् । वाइल्सले भने यस विषयमा टिप्पणी गर्न गरिएको अनुरोधको जवाफ नदिएको रोयटर्सले जनाएको छ ।
