गोल मेसिन ‘साम्बा’ घाइते हुँदा एपिएफलाई उपाधि खल्लो

प्रज्जवल थापा । विभागीय टोली नेपाल एपिएफ क्लबले शुक्रबार राष्ट्रिय महिला लिग-२०७७ को उपाधि चुमेको छ । याेसँगै एपिएफले लिगको उपाधिमा ह्याट्रिक पनि गरेको छ । मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लब र पुलिस क्लबले १-१ गोलको बराबरी खेलेसँगै एपिएफले २ खेल अगावै उपाधि जितेको थियो ।

यस्तै आज भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै एपिएफले अपराजित रहँदै उपाधि जितेको हो । प्रमुख खेलाडी सावित्रा भण्डारीबिना मैदान उत्रिएको एपिएफलाई जित दिलाउन शरु लिम्बूले दुई र अनिता केसिले एक गोल गरिन् । नेपाली महिला फूटबलमा एपिएफले आफ्नो दबदबा कायम गर्दै उपाधी त जित्यो तर स्वयम् क्लब, नेपाली राष्ट्रिय महिला फूटबल टोली र फूटबल समर्थकको लागि यसपटकको लिग खल्लो र महँगोपनि सावित भयो । खल्लो र महँगो सावित हुनुको कारण हो, स्ट्रार स्ट्राइकर सावित्रा भण्डारी घाइते हुनु । सावित्रा गोल मेसिन ‘साम्बा’ उपनामले समर्थकमाझ परिचित छिन् । एपिएफकी स्ट्राइकर साम्बा नेपाल पुलिस क्लब विरुद्धको खेलमा विपक्षी गोलरक्षक उथा नाथसँग ठोक्किदा घुँडामा चोट बोकेकी थिइन् । जसको कारण उनी झण्डै एक वर्ष मैदानबाहिर रहने चिकित्सकहरुले बताएका छन् ।

आजको खेल समाप्त भैसकेपछि एपिएफका अन्य खेलाडीहरु मैदानमा दौडिएर दर्शकसँग र एक-आपसमा खुशी साटासाट गरेका थिए । तर एपिएफलाई उपाधि जिताउन महत्त्वपूर्ण भुमिका खेलेकी साम्बा दौडिन सक्ने अवस्थामा थिइनन् । सावित्रालाई त्यस्तो अवस्थामा देख्दा फूटबल समर्थकको मनमा भक्कानो छुटेको थियो । यस्तै खेलाडीले सावित्राको समर्थनमा विभिन्न लेखको टि-सर्ट पनि लगाएका थिए ।

लिगको दशाैँ खेलसम्म लगातार खेलेकी सावित्रा पुलिस विरुद्धको खेलमा चोट बोक्दै मैदान बाहिरिएकी थिइन् । सावित्राले लिगमा १० खेल खेल्दै ४३ गोल गरिसकेकी थिइन् । जुन लिगमा सहभागी अन्य क्लब नेपाल पुलिस (२८), विराटनगर महानगरपालिका (१६), वालिङ नगरपालिका (२६), चौदण्डीगढी नगरपालिका (४), चन्द्रपुर नगरपालिका (१२)ले गरेको गोलभन्दा बढी हो । सावित्राले लिगको उत्कृष्ट फर्वार्डको पुरस्कार पनि पाइन् । पहिलो खेलमा चन्द्रपुर नगरपालिकाविरुद्ध ह्याट्रिक गर्दै साम्बाले लिगमा गोलको खाता खोलेकी थिइन् ।

दोस्रो खेलमा चौदण्डीगढीविरुद्ध चार गोल गरेकी सावित्राले आर्मीविरुद्धको खेलमा शरु लिम्बू र अन्जली योन्जनले गरेको गोलमा एसिस्ट प्रदान गरेकी थिइन् । यस्तै पुलिसविरुद्ध ह्याट्रिक गर्दा वालिङविरुद्ध दुई गोल गरेकी थिइन् । चौदण्डीगढी विरुद्ध छैटौं खेलमा सावित्राले १२ गोल गरेकी थिइन् । पहिलो पटक डबल राउन्ड रोबिनको आधरमा खेलाइएको लिगमा सावित्राले चौदण्डीगढीविरुद्ध दोस्रो लेगमा ८ गोल गर्दा चन्द्रपुरविरुद्धको ८-० को जितमा डबल ह्याट्रिक गरिन् । यस्तै वालिङ विरुद्ध ५ गोल गरेकी साम्बाको लागि पुलिसविरुद्वको खेल बिर्सिनलायक रह्यो ।

मैदानमा अन्य खेलाडी भन्दा भिन्न देखिने साम्बाको लुक्स मात्र हैन खेल पनि छुट्टै छ । ड्रिब्लिङ होस् या सुटिङ, दौडिन होस् या गोल गर्न साम्बा अन्य खेलाडीभन्दा एक कदम अगाडि छिन् । सावित्राको खेलको बारेमा एपिएफकी मुख्य प्रशिक्षक भगवती थापाले भनेकी थिइन्, ‘टिममा भएपछि सबै खेलाडीको उत्तिकै महत्त्वपूर्ण हुन्छन् तर सावित्रा टोलीको मुख्य खेलाडी हुन् । उनीमा जुनसुकै समयमा खेल पल्टाउन सक्ने क्षमता छ । उनी बराबरका खेलाडी कुनै पनि टिममा छैन । टिममा साम्बाको वैकल्पिक फरवार्ड नै छैनन् ।’ प्रशिक्षकको यहीँ भनाईबाट प्रष्ट हुन्छ कि सावित्राको टिममा कत्तिको महत्त्व छ । उनलाई दशिण एसियाकै सर्वोत्कृष्ट स्ट्राइकर भन्दा फरक पर्ने छैन । साम्बाले विदेशी लिग इन्डियन वुमेन्स लिगको दुईपटक उपाधि पनि जितिसकेकी छिन् । सन् २०१९ मा सेथु एफसीबाट खेल्दै ७ खेलमा १५ गोल गरेकी साम्बाले अर्को सिजनमा गोकुलम केरेलाबाट ७ खेल खेल्दै १९ गोल गरेकी थिइन् । अब युरोपमा खेल्ने सोच बनाएकी साम्बालाई चोटले केही समयको लागि फूटबल बाहिर राख्नेछ ।

राष्ट्रिय महिला लिगको समापन कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्(राखेपा) का  सदस्य सचिव रमेशकुमार सिलवालले अखिल नेपाल फुटबल संघ(एन्फा)सँग मिलेर सावित्राको उपचार कतारमा गर्ने बताएका छन् । अहिलेको अवस्थामा सम्पुर्ण खेलाडी, अफिसियल र समर्थकले एउटा मात्र प्राथना गरिराखेका छन्, त्यो हो सावित्रा जतिसक्दो छिटो निको भएर मैदानमा फर्किएको हेर्ने । तस्बिर;- एन्फा, खेलपाटी 

Leave a Reply

Your email address will not be published. Required fields are marked *