प्रज्जवल थापा । विभागीय टोली नेपाल एपिएफ क्लबकी स्टार स्ट्राइकर सावित्रा भण्डारीले लिगको बाँकी दुई खेल गुमाउने भएकी छिन् । राष्ट्रिय महिला लिग अन्तर्गत सोमबार दिउँसो नेपाल पुलिस क्लबविरुद्धकाे खेलमा घाइते भएकी सावित्राको खुट्टामा चोट लागेको हो ।
एन्फा कम्प्लेक्समा भएको खेलको ६९ औं मिनेटमा विपक्षी गोलरक्षक उषा नाथसँग ठोक्किदा सावित्रा घाइते भएकी थिइन् । उक्त खेल एपिएफले २-१ गोल अन्तरले जितेको थियो । सावित्राको स्थानमा मैदान छिरेकी रबिना गोलेले गोल गर्दै एपिएफलाई जित दिलाएकी थिइन् ।
टोलीकी महत्त्वपूर्ण खेलाडी सावित्रा चोटको कारण मैदान बहिरिएपछि एपीएफलाई ठूलो धक्का लागेको छ । सावित्राको आजै एमाआरआई गरिएको छ । भोलि रिपोर्ट आएपछि मात्र चोटको बारेमा थाहा हुनेछ । रिपोर्ट राम्रो आएपनि सावित्राले बाँकी दुई खेलमा विश्राम गर्नेछिन् ।
हाल एपिएफ १० खेलमा सतप्रतिशत जित निकाल्दै ३० अङ्कको साथ शिर्ष स्थानमा रहेको छ । समान खेलबाट २५ अङ्क जोडेको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा रहेको छ । एपिएफलाई उपाधि जित्नको लागि बाँकी दुई खेलमा मात्र ३ अङ्कको आवश्यकता रहेको छ । एपिएफले बुधबार बिराटनगर महानगरपालिकाको सामना गर्नेछ भने अन्तिम खेल आर्मी विरुद्ध खेल्नेछ ।
