सत्ता र शक्तिको दुरुपयोगः नेकपाको ओली समूहको सभाका दिन उपत्यकामा लाइसेन्सका लिखित र प्रयोगात्मक परीक्षा स्थगित

काठमाडौं । सत्ता र शक्तिका अगाडि सरकारी निकायहरु दुरुपयोग हुने नेपालमा रोग नै छ । राष्ट्रपति, प्रधानमन्त्रीको सवारी हुँदा सडकमा बन्द गर्ने प्रचलनले हैरानी त सर्वसाधारणले बेहोर्दै आएका छन् । तर अहिले सरकारमा रहेको एउटा दलको सभा आयोजना गर्ने दिन चालक अनुमतिपत्रको पूर्वनिर्धारित परीक्षासमेत स्थगित गरिएको छ ।

नेकपाको केपी ओली समूहले माघ २३ गते काठमाडौंमा गर्ने सभालाई मध्यनजर गर्दै उपत्यकाका चार स्थानमा हुने चालक अनुमति पत्रका लिखित र प्रयोगात्मक परीक्षा स्थगित गर्न महानगरीय ट्रफिक प्रहरी महाशाखाले सोमबार परिपत्र गरेको छ । महाशाखाले यातायात व्यवस्था कार्यालय वाग्मती प्रदेश ललितपुर, चाबहिल, जगाती भक्तपुर र ठूलो भर्याङलाई पत्र लेख्दै त्यस दिन विभिन्न स्थानमा विरोध कार्यक्रम तथा भिभिआइपी र भिआइपीहरुको आवागमनको कार्यक्रम रहेकाले जनशक्ति त्यता खटिनुपर्ने हुँदा परीक्षा स्थगित गर्न आग्रह गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि अहिले दिनहुँजसो विरोध प्रदर्शनका कार्यक्रम भइरहेका छन् । तर ती कार्यक्रमका बेला परीक्षा स्थगित भएका छैनन् ।

तर सत्तामा रहेको दलको कार्यक्रमका दिन पूर्वनिर्धारित कार्यक्रम रोक्नु कति उचित हो त ? अन्य दलका कार्यक्रममा सहभागी भए कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिने सरकार आफ्नो कार्यक्रमका दिन परीक्षा नै स्थगित गर्न अघि सर्नु कहाँसम्मको लाजमर्दो कुरा हो ? सहजै अनुमान गर्न सकिन्छ । चालक अनुमतिपत्रका लागि जनता महिनौं पालो कुर्दै बस्नुपर्ने अवस्थामा यसो गर्न कित उचित होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *