अरूण तेस्रोको काम ४० प्रतिशत सकियो

सङ्खुवासभा। सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत् परियोजनाको काम ४० प्रतिशत सम्पन्न भएको छ।

परियोजनाले नदीको पानी डाइभर्सन गर्न ४२९ मिटरको सुरूङ मार्गसमेत निर्माण गरिसकेको छ। परियोजनाले सोमबार सुरूङतर्फ पानी फर्काउने सबै तयारी पूरा गरेको सतलज कम्पनीका कार्यकारी अधिकृत अरूण धिमानले जानकारी दिए।

परियोजनाको २०७४ वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका थिए। अरूण नदीको पानी थुनेर सोमबार सुरूङतर्फ फर्काइने छ। बाँधस्थल मकालु गाउँपालिका-५ फ्याक्सिन्दा र विद्युतगृहस्थल चिचिला गाउँपालिका-२ पुखुवामा निर्माणको काम चौबीसै घन्टा तीव्र गतिमा चलिरहेको परियोजनाले जनाएको छ । बाँधस्थलमा जयप्रकाश एशोसियटस निर्माण कम्पनीले तथा विद्युतगृहस्थल क्षेत्रमा पटेल इञ्जिनियरिङ कन्सल्टेन्टले ठेक्का लिएर काम गरिरहेका छन्। परियोजनामा अहिले भारतीय र नेपालीसहित तीन हजार कामदार छन्। फ्याक्सिन्दादेखि पुखुवा निस्कने मुख्य सुरूङमार्गको दूरी ११ दशमलव ७४ किमी छ।

आयोजना विकास सम्झौता (पिडिए) अनुसार सन् २०२२ सेप्टेम्बर भित्रै काम सम्पन्न हुनेछ। परियोजना निर्माणका लागि नेपाल सरकारको समेत सकारात्मक सहयोग रहेको आयोजनाले जनाएको छ। यन्त्र राख्न १६ हजार सात सय घनमिटर र ट्रान्सफर्मर राख्न ४७ हजार चार सय घनमिटर सुरूङ खनिएको छ। पाइलट होल ९० मिटर खनिएको छ।

एक खर्ब ४४ अर्ब लागत अनुमान गरिएको परियोजनाबाट नेपाललाई २१.९ प्रतिशत अर्थात् १९७.१ मेगावाट बिजुली निःशुल्क पाइने र विभिन्न शीर्षकमा तीन खर्ब ४८ अर्ब आर्थिक लाभ लिनेछ। परियोजनाबाट प्रभावित स्थानीयवासीले एक अर्ब ६० करोडको शेयर पाउनाका साथै प्रतिमहिना ३० युनिट विद्युत् प्राप्त गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *