USAID

स्याउमा सुनौलो भविष्य देख्दै मुस्ताङी किसान


वासुदेव पौडेल । गण्डकी । हिमाल पारिको जिल्ला मुस्ताङका किसान यतिखेर स्याउको कलमीमा जुटेका छन् । हिमाली क्षेत्रमा व्यावसायिक कृषिको महत्वपूर्ण विकल्प बनेको स्याउ खेतीका लागि पुसमाघको समय कलमी गर्ने, स्याहारसुसार गर्ने एवम् लाग्न सक्ने सम्भाव्य रोगबाट जोगाउन रोग प्रतिरोधक औषधि एवम् अन्य कीटनाशक औषधि प्रयोग गर्ने बेला हो । पछिल्ला वर्ष बढ्दै गएको जलवायु परिवर्तनको असरसमेतका कारण विगतमा मुस्ताङको तल्लो भेगमा हुने गरेको स्याउ खेती विस्तारै माथिल्लो भेगतर्फ सर्दै गएको स्थानीय कृषकको अनुभव छ ।
स्वादका दृष्टिबाट अन्य स्थानभन्दा मुस्ताङका स्याउ कास्की, काठमाडौं, चितवनलगायत जिल्लामा सर्वसाधारणको राोजाइमा पर्दै गएको छ । बजारमा सर्वसाधारणले पाएसम्म मुस्ताङको स्याउ नै खोज्ने गरेको लामो समयदेखि पोखरामा स्याउको व्यापार गर्दै आएका शान्तिमाया पौडेलको अनुभव छ । पोखराका फलफूल बिक्री केन्द्रदेखि डोकामा स्याउ बोकेर बेच्न हिँड्ने व्यापारी पनि मुस्ताङको स्याउ भनी ग्राहकलाई आकर्षित गरिरहेका देखिन्छन् । मुख्य याममा मुस्ताङमा नै स्याउको थोक मूल्य प्रतिकिलो सय रुपियाँभन्दा बढी पर्ने गरेको र पोखरा, काठमाडौंँलगायत शहरमा १८० देखि २५० रुपैयाँसम्म बिक्री हुने गरेको व्यापारी बताउँछन् ।

घरपझोङ गाउँपालिका वडा नम्बर ५ ढुम्बाका कर्म गुरुङ स्याउ मुस्ताङको आयआर्जनको प्रमुख विकल्प जस्तै रहेको बताउँछन् । “स्याउबाट यहाँका धेरै बासिन्दाले राम्रो आयआर्जन गरेका छन्”, उनले भने, “यहाँका सर्वसाधारणलाई स्याउ खेतीमा आकर्षित गर्न सरकारले पनि प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनु आवश्यक छ ।”

गुरुङले यस वर्ष झण्डै एक करोड बराबरको स्याउ बिक्री गरेका थिए । चिम्ले अर्चाट प्रालि नामक संस्था दर्ता गरी उनले २०० रोपनी क्षेत्रफलमा स्याउ लगाएका छन् । सफल कृषकका रुपमा राष्ट्रपतिबाट पुरस्कृत उनले मुस्ताङको स्याउको माग पोखरासहित काठमाडाँं, चितवनलगायतका देशका मुख्यमुख्य शहरमा बढिरहेको बताए ।

“स्याउको राम्रो उत्पादन भए पनि यसको बजारीकरणका लागि बाटाको समस्या कायमै छ”, उनले भने, “जोमसोमबाट बेनी हुँदै पोखरासम्म आउने बाटालाई व्यवस्थित गर्नुपर्ने र बाटोलगायत समस्याका कारण समयमा नै स्याउ ढुवानी गर्न नसक्ने अवस्थालाई दृष्टिगत गरी कोल्ड स्टोर स्थापनामा सरकारले चासो दिनुपर्छ ।”

मुस्ताङमा स्याउ खेतीको व्यावसायिकता २०२२ पछि मात्र शुरु भएकोे पाइन्छ । विसं २०२२ मा तत्कालीन कृषि मन्त्रालय, फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको कश्मिरबाट स्याउका बिरुवा ल्याएर वितरण गरिएको थियो ।

स्थानीयवासीका अनुसार शुरुमा प्रत्येक घरमा स्याउका तीनतीन बेर्ना बाँडिएको थियो । त्यसयता बढ्दै गएको स्याउको व्यावसायिक खेतीको विस्तारले गति लिएपछि २०३६ सालयता यहाँका बासिन्दाले स्याउको रक्सी बनाउन थालेका थिए । पछिल्ला वर्षमा मुस्ताङमा स्याउको रक्सी उत्पादन गर्ने सात उद्योग सञ्चालनमा आइसकेको रामलक्ष्मी डिष्ट्रलरी प्राइभेट लिमिटेड, घरपझोङ – ३ स्याङका सञ्चालक चन्द्र थकालीले जानकारी दिए ।

“बजारमा स्याउको रक्सीको माग अत्यधिक छ”, उनले भने, “मुस्ताङबाट जोमसोम हुँदै पोखरासम्म पुग्ने बाटाको समस्या आदिका कारण पनि मुस्ताङमा उत्पादित स्याउको रक्सी तयार गरी बजारमा पुर्याउन सक्ने देखिन्छ ।” सरकारले मदिरामा लगाएको करमा केही छुट गरी कृषकलाई यसतर्फ प्रोत्साहन गर्नुपर्ने उनले औँल्याए ।

त्यस्तै रासायनिक मल, अन्य कृषि उपकरण सर्वसाधारणले सहज तथा सुपथ मूल्यमा प्राप्त गर्न सक्ने वातावरण तयार गर्नुपर्ने उनले बताए । एक्काइस वर्षअघि बुबाको पालादेखि नै डिष्ट्रिलरी सञ्चालन गर्दै आएका थकालीले हाल वार्षिक झण्डै एक करोड बराबरको कारोवार गर्दै आएका छन् । पर्यटकीय जिल्लासमेत भएकाले मुस्ताङ पुग्ने पर्यटकले स्याउको रक्सीको स्वाद लिएर फर्कने गरेको र कतिपयले घर फर्किँदा कोसेलीका रुपमा पनि लिएर आउने गरेका छन् ।

स्याउखेतीको धेरै सम्भावना रहे पनि अझै त्यसको राम्रो उपयोग हुन नसकेको बताउने यहाँका सर्वसाधारण राज्यका तर्फबाट पनि ‘सुनखानी’ खेतीतर्फ प्रोत्साहन गर्ने कार्यक्रम ल्याएमा बढ्दो युवा विदेश पलायन हुने क्रम रोकिने विश्वास व्यक्त गर्छन् । सिंचाइको प्रबन्धका साथै आवश्यक मल समयमा नै प्राप्त भए अपेक्षित उत्पादन पाइने कृषकको अनुभव छ । विशेषतः पोखरा, काठमाडौंँलगायत शहरमा असोज, कात्तिक र मङ्सिरसम्म मुस्ताङको स्याउ बिक्री हुन्छ । सामान्यतः तीजदेखि नै यहाँका बगैँचामा स्याउ टिप्ने काम शुरु हुन्छ ।

जिल्लामा लगभग एक हजार ४०० हेक्टर क्षेत्रफलमा स्याउ लगाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन कार्यक्रम जोमसोमका सूचना अधिकारी यमुना लामाका अनुसार लगाइएकोमध्ये हाल ५५० हेक्टर क्षेत्रफलको स्याउले उत्पादन दिन थालेको छ ।

जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण तल्लो मुस्ताङका कोवाङ, लेते, टिटीलगायत स्थानमा स्याउ खेती विस्तारै कम हुँदै उपल्लो भेगतर्फ बढ्दै गएको पाइन्छ । जिल्लामा यस वर्ष सात हजार १५० मेट्रिक टन स्याउ उत्पादन भएको सूचना अधिकारी लामाले जानकारी दिइन् ।

उनका अनुसार परियोजना कार्यालयले स्याउका लागि उपकरण औजार अनुदानमा दिने तथा बजारीकरणलगायतमा कृषकलाई अनुदान सहयोग गर्दै आएको छ । कार्यालयमा यस वर्ष पाँच हजार ४०० स्थानीय जात र ३० हजार हाइटेन्सिटी स्याउको बेर्नाको माग भएको बताइएको छ । लामाका अनुसार कार्यालयले ५० प्रतिशत अनुदानमा मागअनुसारको स्थानीय जात र हाइटेन्सिटी स्याउका नौ हजार बेर्ना बाँड्ने तयारी गरेको छ । मुस्ताङमा पाँच चुच्चे, गोल्डेन, फुजी, गल्लेगल्ले जस्ता प्रजातिका स्याउ फल्ने गरेकामा र अघिल्ला दुईको बजारमा बढी माग भएको व्यवसायी बताउँछन् । मुस्ताङको स्याउको बजारमा अत्यधिक माग रहेको बताउने स्याउ व्यापारी बजारमा ग्राहकलाई झुक्याउँदै मुस्ताङको स्याउ भन्दै अन्य स्थानका स्याउ बिक्री गर्दै आएको गुनासो गर्छन् ।

पछिल्ला समयमा स्याउका जरामा लाग्ने रोगका साथै अन्य विभिन्न रोग र विभिन्न वन्यजन्तुका कारण स्याउ जोगाउन समस्या हुने गरेको टुकुचे स्याउ नर्सरी, थासाङ गाउँपालिका वडा नं १ टुकुचेका सञ्चालक राजन शेर्पा बताउँछन् । वर्षमा १५÷१६ हजारसम्म स्याउका बेर्ना तयार गरी बिक्री गर्दै आएका शेर्पाले पाँच रोपनी क्षेत्रफलमा नर्सरी लगाउँदै आएका छन् । स्याउमा सम्भावना देख्दै १३ वर्षयता नर्सरी सञ्चालन गर्दै आएको बताउँदै उहाँले सरकारले समयसमयमा तालीमका साथै सिंचाइको प्रबन्ध आदिको व्यवस्थापन गरिदिनुपर्ने औँल्याए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *