अमेरिकाका सबै राज्यमा उच्च सुरक्षा सतर्कता

राष्ट्रपतिका रूपमा जो बाइडनले पदभार ग्रहण गर्नुअघि हिंसात्मक प्रदर्शन हुन सक्ने आशङ्कामा अमेरिकाका सबै राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । बाइडनले बुधवार पदभार ग्रहण गर्दै छन् ।

संसद्मा भिड पसेको दिन जस्तै हिंसात्मक प्रदर्शन नहोस् भनेर राजधानी वासिङ्टन डीसीमा नेशनल गार्ड्स परिचालन गरिएको छ । सबै ५० राज्यमा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकले प्रदर्शन गर्न सक्ने सङ्घीय जाँच ब्यूरो एफबीआईले चेतावनी दिएको छ । शुक्रवार वासिङ्टन डीसी एक जना मानिस हतियार सहित पक्राउ परेका थिए ।

भर्जीनिया राज्यका ती मानिसले बन्दुक र ५०९ राउन्ड गोली बोकेका थिए । राष्ट्रपतिको सुरक्षार्थ खटिने निकायको अनुरोधमा राष्ट्रपतिको शपथग्रहण गर्दा जम्मा हुने हजारौँ सर्वसाधारणलाई रोक्ने प्रयास गरिएको छ ।

कोभिड १९ महामारीकाबीच बुधवार हुने समारोहमा सहभागी हुनका लागि देशभरबाट यात्रा नगर्न सर्वसाधारणहरूलाई बाइडनको टोलीले आग्रह गरेको छ । स्थानीय अधिकारीहरूले सर्वसाधारणलाई घरैबाट उक्त कार्यक्रम हेर्न भनेका छन् ।

ट्रम्प समर्थकहरूले अनलाइनमार्फत् हतियार सहितको प्रदर्शनको आह्वान गरेका कारण आइतबारका लागि डाकिएको प्रदर्शन महत्वपूर्ण ठानिएको छ । तर केहीले भने उक्त प्रदर्शन प्रहरीले सृजना गरेको फन्दा रहेको र सुरक्षा व्यवस्था निकै कडा पारिएको भन्दै त्यसमा सहभागी नहुन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

राष्ट्रपति ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बने लगत्तै अमेरिकामा सुरक्षा सतर्कता बढाइएको हो । अमेरिकी संसद् भवनमा विध्वंस भएसँगै तल्लो सदनले ट्रम्पविरुद्ध महाभियोग लगाएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *