घरेलु उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धा गर्ने सक्ने बनाउनुपर्छ : मन्त्री गुरुङ

तनहुँ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले घरेलु उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँ तथा महिला उद्यमी विकास समितिको शनिबार आयोजित २१औँ साधारणसभाको उद्घाटन गर्दै मन्त्री गुरुङले घरेलु उत्पादनको बजारीकरणका लागि सरकारले वातावरण सिर्जना गर्ने बताए ।

मन्त्री गुरुङले मागेर वा दान दिएर मुलुक कहिल्यै पनि समृद्ध बन्न नसक्ने चर्चा गर्दै माग्ने संस्कृति अन्त्य गर्नुपर्ने बताए । “सबै उद्यमी बन्नुपर्छ, व्यवसायी बन्नुपर्छ तब मात्र मुलुक समृद्ध बन्न सक्छ”, उनले भने, “मगन्ते भएर मुलुक समृद्ध बनाउन सकिँदैन ।” गण्डकी प्रदेशका सांसद रामबहादुर गुरुङले उद्योग व्यवसाय देश विकासको मेरुदण्ड भएको बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका उपाध्यक्ष शोभा गुरुङले राज्यले प्रदान गर्ने सेवासुविधा लिनका लागि व्यवसायी नै सचेत हुनुपर्नेमा जोड दिइन् ।

अर्का उपाध्यक्ष श्रीबहादुर कँडेलले घरेलु उद्योगबाट उत्पादित वस्तु बजारीकरणका लागि महासङ्घले पहल गर्दै आएको बताए । अधिवेशनले घरेलु तथा साना उद्योग महासङ्घ र महिला उद्यमी विकास समितिको नयाँ नेतृत्व चयन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *