काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशलाई लोडसेडिङमुक्त बनाउने अभियानपछि अब भ्रष्टाचार, गरिबी, बेथिति, बेरोजगारी, अन्याय र निराशाको अँध्यारो हटाउने संकल्प रहेको बताएका छन्।
तिहार, नेपाल संवत् र छठ पर्वको शुभकामना सन्देश जारी गरी घिसिङले २०७३ सालअघिका लोडसेडिङका दिन स्मरण गरेका छन् । उनले नागरिकको साथ, विश्वास र दृढ संकल्पले देशलाई लोडसेडिङमुक्त बनाउन सम्भव भएको उल्लेख गरेका छन्।
उनले देशका अधिकांश घरमा विद्युत् पहुँच विस्तार भएको र नेपाली विद्युत् विदेशसम्म पुग्न थालेको बताएका छन्। उनले भनेका छन्, ‘हिजो बिजुलीको अँध्यारो हटायौँ, अब भ्रष्टाचार, गरिबी, बेथिति, बेरोजगारी, अन्याय र निराशाको अँध्यारो हटाउने संकल्प छ ।’
चुनौती आएपनि परिवर्तनको यात्रा नरोकिने उल्लेख गर्दै घिसिङले अँध्यारोलाई सरापेर होइन, आफैँ दीप बनेर उज्यालो फैलाउनुपर्ने बताएका छन्। उनले सुशासन र सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि नागरिकको साथ र विश्वास अपेक्षा गर्दै हरेक घरमा खुसी, मनमा आशा र जीवनमा समृद्धिको उज्यालो छाओस् भन्ने कामनासमेत गरेका छन्।
