काङ्ग्रेस अलमलमा हो ?

हुतमणि अधिकारी

प्रतिनिधिसभा विघटन पछि अब के गर्ने कसरी अघि बढ्ने भन्ने बारेमा मुलुकको सबैभन्दा प्रभावशाली र यतिबेला संसदमा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको नेपाली काङ्ग्रेसमा दुई धार छ, दोधार छ । केन्द्रीय नेतादेखि गाउँ गाउँका कार्यकर्ता, शुभेच्छुक मतदातासम्म दोधार र अलमलमा देखिन्छन् ।

पार्टी भित्रको आन्तरिक झगडा र विवादले नेकपा फुटको बाटोमा अघि बढिसकेको, प्रतिनिधिसभा विघटन र ताजा जनादेशका लागि निर्वाचन मिति घोषणा भइसकेको, प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक हो भन्दै सो निर्णय बदर गराउन सर्वोच्च अदालतमा परेको मुद्दा बिचाराधीन अवस्थामा रहेको, विभिन्न आशंका, अड्कलबाजी चलिरहेको अवस्थामा काङ्ग्रेस नेताहरू फरकफरक बिचार र पक्षमा उभिएका र बिचार व्यक्त गरिरहेका पाइन्छन् ।

एक थरी नेताहरू ओलीको कदम काङ्ग्रेसको लागि अनुकूल र फलदायी हुने भएकोले निर्वाचनमा जानुपर्छ, आन्दोलनमा जानू उपयुक्त हुँदैन, यसले उल्टो परिणाम दिन्छ, सर्वोच्चको निर्णय पर्खौँ, सोही अनुसार रणनीति तय गरौँ, निर्वाचनको तयारीमा लागौं , प्रतिनिधिसभा पुनस्र्थापना हाम्रो अनुकूल पनि होइन एजेन्डा पनि होइन, ताजा निर्वाचन नै समस्याको समाधान हो, काङ्ग्रेस एक्लै आफ्नो एजेन्डामा अगाडि बढ्नुपर्छ भन्नेमा दृढ देखिन्छन् । अर्काथरि चाहिँ ओलीको कदम असंवैधानिक भएकोले प्रतिनिधिसभा पुनस्र्थापनाका लागि आन्दोलन गर्नुपर्छ भन्ने अडानमा रहेका छन् । यो समूह नेकपाका ओली विरोधी पक्ष र उक्त कदमको विरोधमा रहेका राजनीतिक दलहरूसँग सहकार्यको पक्षमा देखिन्छन् । भलै यही समूहको जोडबलमा अहिले संस्थापनसहित पुरै काङ्ग्रेस भण्डाफोर र विरोध प्रदर्शनमा उत्रिएको छ, देशव्यापी विरोध प्रदर्शनलाई अरुले झैँ आन्दोलन भनिसकेको छैन ।

काङ्ग्रेसमा साँच्चै यतिबेला दोधार छ । प्रतिनिधिसभा विघटनको सिफारिस र निर्णय असंवैधानिक कि अराजनीतिक ? विरोध मात्र गर्ने कि आन्दोलन ? प्रतिनिधिसभा पुनस्र्थापना कि ताजा निर्वाचन ? काङ्ग्रेस एक्लै अघि बढ्ने कि अरु दलसँग सहकार्य गर्ने ? नेकपाका दुई गुट मध्ये ओली गुटसँग सत्ता साझेदारी गर्ने कि प्रचण्ड माधव गुटसँग ? काङ्ग्रेसलाई केमा फाइदा छ ( निर्वाचन कि पुनस्र्थापना) ?

साँच्चै अहिले काङ्ग्रेस अलमलिएको प्रतित हुन्छ , नेताहरू असजिलोमा परेको भान हुन्छ । मन एकातिर, बोली अर्कातिर ! बोली एकातिर, मन अर्कातिर ! गर्न एकथोक पर्ने, भन्न अर्को थोक पर्ने अचम्मको अवस्थामा, अप्ठ्यारोमा परेजस्तो लाग्छ काङ्ग्रेस । तलदेखि माथिसम्मका नेता कार्यकर्ता रनभुल्ल, अलमल्ल परे जस्तो देखिन्छ । काङ्ग्रेस स्पष्ट हुनु जरुरी छ– काङ्ग्रेसको प्राथमिकता के हो ? काङ्ग्रेसको सिद्धान्त, आदर्श के हो ? काङ्ग्रेसको मूल्य मान्यता पहिचान र गौरव के हो ? सत्ता कि सत्य ? सत्ता कि निष्ठा ? यसको जवाफ खोज्दा समाधान फेला पर्छ, अलमल र दुबिधा हटेर जान्छ ।

सोझै हेर्दा नेकपा फुटेको यो अवस्थामा निर्वाचन भयो भने काङ्ग्रेसलाई निश्चितरूपमा फाइदा हुने देखिन्छ तर काङ्ग्रेस सत्ता प्राप्ति र क्षणिक लाभका पछाडि दौडेको छैन, दौडन हुँदैन । काङ्ग्रेस निश्चित सिद्धान्त, आदर्श, लोकतान्त्रिक विधि, पद्धति, मूल्य मान्यताको लागि लड्ने र लडेर आएको पार्टी हो । सत्ता मात्र काङ्ग्रेसको अभिष्ट होइन । बिपी कोइराला, कृष्णप्रसाद, सुवर्ण समशेर, गणेशमान जस्ता नेताहरूलाई राजा महेन्द्र र वीरेन्द्रले पनि निर्दलीय पञ्चायती व्यवस्था स्वीकारेको भए आजीवन प्रधानमन्त्री मन्त्री बनाउने थिए, यस्तो प्रस्ताव आएको पनि थियो तर उहाँहरूले आफू मात्र सत्तामा जाने, सुखसयल भोग्ने कुरा कहिल्यै सोच्नु भएन ।

आज काङ्ग्रेस कार्यकर्ताले बुझ्नुपर्छ किन कम्युनिस्ट कमजोर भएको र चुनाव जित्ने प्रवल सम्भावना मात्र होइन सुनिश्चित हुँदाहुँदै पनि काङ्ग्रेस प्रतिनिधिसभा विघटनको बिरुद्ध किन खरो रुपमा उत्रिएको छ ? किन विरोध गरिरहेको छ ? यसकारण कि यो लोकतान्त्रिक पद्धति , संवैधानिक व्यवस्था र संविधानको पक्षमा काङ्ग्रेसको दृढता प्रतिवद्दता र अडान हो । काङ्ग्रेस सत्ताको लोभ र मोहमा छैन, होइन । काङ्ग्रेसलाई “तातै खाउँ, जली मरौँ “ गर्न आवश्यक पनि छैन । काङ्ग्रेस लोकतान्त्रिक विधि पद्धति मूल्य मान्यतामा अडिग रहनुपर्छ, रहन्छ । इतिहासबाट धेरै पाठ सिकेर काङ्ग्रेसले देश र जनताको अपेक्षा र आवश्यकता बमोजिम उचित समयमा उचित निर्णय लिएर अगाडि बढ्छ । कसैमा अलमल र दुविधा छ भने यत्ति कुरा बुझ्दा हुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *