प्रज्जवल थापा । प्रिमियर लिगमा सात खेलपछि जित निकाल्ने क्रममा आर्सनलले चेल्सीलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा आर्सनल ३-१ गोल अन्तरले विजयी भएको हो ।
इमिरेट्स रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन एलेक्सान्द्रे लाकाजेट्टे, ग्रानेट जाका र बुकायो साकाले एक/एक गोल गरे । चेल्सीको लागि टाम्मी अब्राहामले गरेको गोल सान्तवनामा सिमित रह्यो । खेलको ३४ औँ मिनेटमा एलेक्सान्द्रे लाकाजेट्टेले पेनाल्टीमा गोल गर्दै आर्सनललाई शुरुवाती अग्रता दिलाएका थिए ।

यस्तै ४४ औँ मिनेटमा ग्रानेट जाकाले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । ५६ औँ मिनेटमा इमिले स्मिथ रोवेको पासमा बुकायो साकाले गोल गर्दा आर्सनल ३-० गोलको सहज स्थितिमा रहेको थियो । ८५ औँ मिनेटमा हुड्सोन ओडिको पासमा टाम्मी अब्राहामले गोल गर्दै चेल्सीलाई ३-१ को स्थितीमा ल्याएका थिए । खेलको अतिरिक्त समयमा जोर्जिन्हो पेनाल्टीमा गोल गर्न चुक्दा चेल्सीले गोल अन्तर कम गर्ने मौका गुमायो ।
बाँकी समयमा दुवै टोलीबाट गोल हुन नसक्दा आर्सनल ३-१ गोल अन्तरले विजयी भएको भयो । खराब प्रदर्शनबाट गुज्रिरहेको आर्सनललाई यस जितले केहि राहत मिलेको छ । जितसँगै आर्सनल १५ खेलमा १७ अङ्क जोड्दै १४ स्थानमा उक्लिएको छ । पराजित चेल्सी १५ खेलमा २५ अङ्क जोड्दै सातौँ स्थानमा झरेको छ ।
