घरेलु मैदानमा युभेन्टस पराजित

प्रज्जवल थापा । इटालियन च्याम्पियन युभेन्टस घरेलु मैदानमा पराजित भएको छ । सिरि ए अन्तर्गत मंगलबार राति भएको खेलमा युभेन्टस फियोरेन्टिनासँग ३-० गोल अन्तरले पराजित भएको हो ।

एल्लिनाज एरिनामा भएको खेलमा युभेन्टस तेस्रो मिनेटमै पछि परेको थियो । फ्रान्क रेबरीको पासमा डुसान भ्लाहोभिकले गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडी बढाएका थिए । एक गोलले पछि परेको स्थितिमा १८ औँ मिनेटमा कौड्राडो रातो कार्ड खाँदै मैदान बाहिरिएपछि युभेन्टस बाँकी समय १० खेलाडीमा सिमित भएको थियो।

७६ औँ मिनेटमा एलेक्स सान्ड्रोले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि युभेन्टस खेलमा २-० गोलले पछि परेको थियो । यस्तै ८१ औँ मिनेटमा क्रिस्टियानो बिराघीको पासमा मार्टिन कासेरेसले गोल गरेपछि फियोरेन्टिना सहज जिततर्फ अगाडी बढेको थियो । युभेन्टसले पाएका अवसर सदुपयोग गर्न नसक्दा अप्रत्याशित हार बेहोर्न बाध्य भयो ।

हारसँगै युभेन्टसको अपराजित यात्राामा पूर्णविराम लागेको छ । यस्तै रोनाल्डोले युभेन्टसबाट घरेलु मैदानमा पहिलो हार चाखेका छन् । जितसँगै फियोरेन्टिना १४ खेलमा १४ अङ्क जोड्दै १५ औँ स्थानमा उक्लिएको छ । पराजित युभेन्टस १३ खेलमा २४ अङ्क जोड्दै लिगको चौथो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *