प्रज्जवल थापा । स्पेनिस खेलकुद पत्रिका मार्काले प्रदान गर्दै आएको ६७ औं संस्करणको मार्का फुटबल अवार्ड सम्बन्धित खेलाडीले प्राप्त गरेका छन् ।
रियल म्याड्रिडका स्ट्राइकर करिम बेन्जिमा ला लिगा २०१९/२० सिजनको उत्कृष्ट खेलाडी घोषित भएका हुन् । गत सिजन म्याड्रिडलाई लिग च्याम्पियन बनाउन महत्त्वपूर्ण भुमिका खेलेका बेन्जिमाले ‘अल्फ्रेडो डि स्टेफेनो’ ट्रफी हात पारे । फ्रान्सेली स्ट्राइकर बेन्जिमाले गत सिजन लिगमा २१ गोल गरेका थिए । सन् २००६/०७ पछि लियोनल मेस्सी र पुर्व रियल म्याड्रिकका फर्वार्ड क्रिस्टियानो रोनाल्डो बाहेक अन्य खेलाडीले यस अवार्ड पहिलोपटक पाएका हुन् ।

लिगको सार्वधिक गोलकर्तालाई दिईने ‘पिचिची ट्रफी’ बार्सिलोनका फर्वार्ड लियोनल मेस्सीले सातौँ पटक प्राप्त गरेका छन् । गत सिजन मेस्सीले लिगमा २५ गोल गरेका थिए । जुन दोस्रो स्थानमा रहेका बेन्जिमाको भन्दा ४ गोल बढी हो । यससँगै मेस्सी ला लिगामा सार्वधिक पिचिची अवार्ड जित्ने खेलाडीको शिर्ष स्थानमा उक्लिएका छन् ।

यस्तै उत्कृष्ट गोलरक्षकलाई दिईने ‘जामोरा ट्रफी’ म्याड्रिडका थियोबाट कोर्टियसले पाएका छन् । कोर्टियसले लिगको ३४ खेल मध्य १८ खेलमा क्लिन सिट राखेका थिए ।

यस्तै रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान र सेभिल्लाका प्रशिक्षक जुलेन लोपेटेगीले संयुक्त रुपमा ‘मिगुयल मुनोज ट्रफी’ हात पारेका छन् । यस ट्रफी लिगको उत्कृष्ट प्रशिक्षकलाई दिइने गरिन्छ । गत सिजन लकडाउनपछि जिदानको नेतृत्वमा म्याड्रिडले लिगको ११ खेल मध्य १० खेलमा जित निकाल्दै लिग आफ्नो पोल्टामा पारेको थियो ।
-एजेन्सी
