प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा टोटेन्हामले लगातार दोस्रो हार बेहोरेको छ । आइतबार राति भएको खेलमा टोटेन्हाम घरेलु मैदानमा लेस्चर सिटीसँग २-० गोलले स्तब्ध भएको हो ।
हटस्पर स्टेडियममा भएको खेलमा लेस्चरलाई जित दिलाउन भार्डीले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । पहिलो हाफको अतिरिक्त समयमा भार्डीले पेनाल्टीमा गोल गर्दै लेस्चरलाई खेलमा अगाडि बढाएका थिए । अरिअरले फिफनालाई पेनाल्टी क्षेत्रमा लडाएपछि लेस्चरले पेनाल्टी पाएको थियो ।

५९ औँ मिनेटमा एल्डेरविरेडले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि लेस्चरले खेलमा २-० गोलको अग्रता लिएको थियो । बाँकी समयमा दुवै टोलीबाट गोल हुन नसक्दा लेस्चर २-० गोलले विजयी भयो । जितसँगै लेस्चर १४ खेलमा २७ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलमा २५ अङ्क जोडेको टोटेन्हाम पाँचौ स्थानमा झरेको छ ।
